वैशाख १३, वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरमा बसोबास गर्दै आएका १६ हजारभन्दा बढी परिवारलाई राहत उपलब्ध गराएको छ । वीरेन्द्रनगरमा स्थायी र अस्थायी बसोवास गर्दै आएका १६ हजार ८ परिवारले राहतस्वरूप खाद्यान्न उपलब्ध गराएको जनाएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको डरले गरिएको लकडाउनबाट प्रभावितलाई नगरपालिकाले दुई चरणमा राहत वितरण गरेको हो । ‘पहिलो चरणमा नगरका स्थायी बासिन्दा ६ हजार ६ सय ८२ परिवारलाई राहत वितरण गरेको र दोस्रो चरणमा नगरमा बस्दै आएका विद्यार्थी तथा मजदुरलाई ९ हजार ३ सय २६ परिवारलाई राहत वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले प्रति ६ जनाको परिवारलाई ३० किलो चामल, १ किलो नुन, १ किलो दाल र १ लिटर तेल वितरण गरेको छ । भने प्रतिविद्यार्थि ५ किलो चामल, १–१ किलो दाल, नुन र १ लिटर तेल वितरण गरिएको हो ।
नगरपालिकाले राहत वडा कार्यालयद्वारा वितरण गरेको थियो । साथै कसैलाई राहत आवश्यक परेमा १०१ मा निःशुल्क फोन गर्न अनुरोध गरेको छ ।