ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपी प्रतिष्ठानमा १०० बेडको कोभिड–१९ अस्पताल सञ्चालन

२०७७ बैशाख, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । प्रदेश १ मा कोरोना संक्रमित बढ्दै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरिएको कोरोना १९ अस्पताल सञ्चालनमा आएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले निरीक्षण गरेपछि आइतवारदेखि अस्पतालले औपचारिक रूपमा सेवा शुरूआत गरेको हो । प्रतिष्ठानले आफ्नै पहलमा १००  बेडसहित १० ओटा आईसीयू बेड, बालबालिकाहरुका लागि छुट्टै कक्ष, सुत्केरी महिलाहरुलाई छुट्टै कक्षको अस्पताल निर्माण गरेको हो ।

सशस्त्र द्वन्द्वका बेला घाइते तथा अंगभंग भएकालई पुनःस्थापना गर्न निर्माण गरिएको सो केन्द्रलाई अस्पतालको रूपमा विकास गरिएको हो । यस अस्पतालमा अब कोरोना संक्रमित तथा आशंका गरिएका बिरामीलाई छुट्टै राखेर उपचार गरिनेछ । अस्पताल परिसरमा ल्याब परीक्षण, हेल्पडेस्कको समेत व्यवस्था गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै अस्पतालभित्रै रेडियोलोजी सेवा, अप्रेसन कक्ष, सिटी स्क्यान, ल्याबलगायत सेवा पनि विस्तार गरिएको छ ।
अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ मा कोरोना बिरामीका लागि छुट्टै अस्पतालको रूपमा १५० बेडको अस्पताल बनाउन सफल भएको बताए । प्रदेश सरकारको पहलमा कोरोनाको संक्रमण देखिन थालेलगत्तै विराटनगरमा ५० बेडको कोरोना अस्पताल निर्माण गरिएको थियो । प्रतिष्ठानले थप १०० बेडको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको विकास र थप सेवाका लागि प्रदेश सरकारले कुनै किसिमको कसर बाँकी नराख्ने मुख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘थप आवश्यक सहयोग, सेवा विस्तारमा प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्नेछ ।’

कोरोना संक्रमणको केन्द्र बन्दै गए पनि सरकारको तयारी राम्रो रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । ‘प्रदेश १ कोरोना भाइरसको केन्द्रविन्दुको रूपमा देखापरेको छ । तर प्रदेश सरकारको अत्यन्त राम्रो तयारी भएकाले आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने ।  

अस्पतालको सेवा विस्तार गर्दै केही समयभित्रै ५०० बेडको अस्पतालको रूपमा विकास गर्ने तयारीमा रहेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए । सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने योजना अनुसार थप सेवाका लागि तयारी भइरहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)