वैशाख १५, वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाले लकडाउनका कारण प्रभावित भएका परियोजनाह अगाडि बढाउने भएको छ । लकडाउन हुनुभन्दा पहिला रोकिएका विकास निर्माणका कामहरू मेशिन तथा जनशक्तिको प्रयोगबाट हुने काममा भौतिक दूरी कायम गरी रोगको संक्रमण फैलिन नदिने उपायहरूको अबलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना बढाउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले बताए ।
कोरोना संक्रमण जोखिममा रहेको व्याक्तिहरूको आरडीटी स्क्रिनिङ गर्न आरडीटी किट उपलब्ध गराइदिन प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने, लकडाउनमा पनि कतिपय स्थानीय तहले गाडीहरूमा व्यक्तिलाई उद्धार तथा आवतजावतको व्यवस्था गरेकाले यस नगरपालिकामा प्रवेश गर्ने मानिसमा रोगको संक्रमण हुन नदिन विभिन्न क्षेत्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको ढकालले जानकारी दिए, जसअन्तर्गत वडा नम्बर ११ को सुब्बाकुना, १४ को छेडा गढी, १ को बाँगेसिमल, २ को फलाटेमा हेल्थ डेस्क राख्ने निर्णय गरिएको हो ।
साथै पैदलयात्री आउने अन्य स्थानहरू बामेखोला, शक्तेकाँडा जस्ता क्षेत्रमा पनि सम्बन्धित स्वास्थ्य संस्थाले व्यवस्थापन गर्ने निणय गरेको हो ।