ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयातित चामल बाँड्दै सल्यानका स्थानीय तह

२०७७ बैशाख, १६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

वैशाख १६, सल्यान । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बन्दाबन्दी गरेको एक महिनाभन्दा बढी भइसकेको छ । बन्दाबन्दीका कारण सल्यान सुनसान छ, जसका कारण दैनिक ज्याला मजदुरी गर्ने वर्ग सबै भन्दा बढी मारमा परेका छन् । त्यस्ता परिवारलाई स्थानीत तह मार्फत खाद्यान्न वितरण शुरु गरिएको छ । 

तर राहतका नाममा सल्यानका सबै स्थानिय तहले खाद्यान्न बाँडेका छन् अर्थात् दाल र चामल बाँडिएको छ । मकै, गहुँ, जौ, कोदो, बाँडिएको छैन भने राहतमै यस्ता खाद्यान्नको माग पनि गरिएको छैन । राहतमा चामल बाहेक कुनै पनि स्थानीय तहले अन्य खाद्यबाली वितरण गरेका छैनन् । चामल दाङ, भैरहवा लगायतका ठाउँबाट लाखौँ रुपैँया खर्च गरेर आयात गरिएको हो । 

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले नगरपालिकाले राहतको रुपमा चामल वितरण गरेको बताए । ‘हामीले नगरभित्रका स्थानीय बजारबाट खरिद गरेर चामल बितरण गरेका छौँ, स्थानीय उत्पादन नपाईएकाले चामल वितरण गरिएको हो, अब गहुँ, जौँ खरिद गरेर वितरण गर्ने सोचमा छौं,’ उनले भने । नगरपालिकाले ९ सय बढी घर परिवारलाई राहत स्वरुप चामल वितरण गरेको उनको भनाइ छ । 

छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले स्थानीय उत्पादन भन्दा पनि चामल खरीद गरेर वितरण गरेको बताए । ‘हामीले स्थानीय उत्पादन गहुँ, मकै, वितरण गर्ने सोच बनाएका छौं,’ पहिलो चरणमा हामीले चामल वितरण गरेका हौँ, अब दोस्रो चरणमा राहत वितण गर्दा स्थानीय उत्पादनलाई समावेश गर्छौं,’ उनले भने । अहिले गहुँ, जौं लगायत अन्न तयार नभएकाले चामल नै बाँडिएको उनको भनाइ छ । 

संकटका बेला राहत उपलब्ध गराउँदा स्थानीय तहले गाउँकै अन्न किनेर राहत बाँड्न सके स्थानीय तहहरुले स्थानीयस्तरका कृषकलाई प्रोत्साहन गरेको बुझिने धेरै कृषक बताइरहेका छन् । रैथाने अन्न थन्क्याएर आयातित चामल बाँड्नुले जनप्रतिनिधि कृषकमैत्री बन्न नसकेको जिल्लाका किसानहरुको गुनासो छ । भात मात्रै खाने प्रवृत्तिका कारण कोदो र मकै दाना बनाएर गाईवस्तुलाई खुवाउने र घरेलु मदिरा बनाउन प्रयोग गर्ने गरिएको छ । 

यस्तै राहतमा बाँडिएका ‘फास्ट फुड’ले तत्कालका लागि भोक मेटाए पनि ती खाद्यवस्तुमा रोगसँग लड्ने क्षमता कम हुने र क्यालोरी नहुने स्वास्थ्यकर्मी बताउँछन् । सल्यान कर्णाली प्रदेशभित्रको खाद्यान्नमा आत्मनिर्भर जिल्ला हो । जिल्लामा उत्पादित खाद्यान्नले जिल्लावासीलाई पुग्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । जिल्लामा उत्पादन भएको मकै निर्यात हुने र चामल जिल्लामा आयात हुने गरेको उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)