वैशाख १७, धनकुटा । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भइरहेको छ । लकडाउनकै कारणले व्यावसायिक रूपमा कुखुरापालन गरेका किसानको लगानी संकटमा परेको छ । लकडाउनले खोर तथा फार्ममा हुर्किएका कुखुरा बजारसम्म पु¥याउन नसक्दा धनकुटाका कृषकको लगानी डुब्ने अवस्थामा पुगेको हो । यसैगरी बजारमा सहजरुपमा दाना नपाइँदा र ढुवानी गर्न नसक्दा खोरका कुखुरा पाल्नसमेत कठिनाइ भएको किसानहरूको गुनासो छ ।
लकडाउनका कारण कुखुरा बिक्री गर्न नसकिएको धनकुटा–६ का किसान युद्धबहादुर कार्कीले बताए । ‘जग्गा बैंकमा राखेर १० लाख ऋण लिएर सुरु गरेको व्यवसाय संकटमा परेको उनको भनाइ छ । ‘६० दिन पाल्दा समेत लकडाउनले बजार ठप्प भएकाले कुखुरा बिक्री गर्न समस्या पर्दै आएको छ,’ उनले भने, ‘दाना सकिएपछि खान नपाएर कुखुरा मर्न थालेका छन् ।’
हाल २ हजार ब्रोइलर कुखुरा पालेका उनलाई यो लटमा सबै लगानी घाटा हुने भएकोमा चिन्ता लागेको छ । कार्कीका अनुसार लकडाउन भन्दा पहिले प्रतिकिलो रु एक सय ७५ देखि रु दुई सय ६० सम्म कुखुरा विक्री हुने गर्दथ्यो ।
दैनिक एउटा एउटा कुखुरा विक्रि गरेर लगानी उठाउन किसानलाई धेरै समस्या छ । माछा मासुबाट पनि भाइरस सर्छ भन्ने मान्यता र कुखुराका लागि दानाको अभाव हुँदा व्यवसाय नै संकटमा परेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सुचना प्रवाह गर्दा मासु तथा अण्डा राम्रोसँग पकाएर खान भनिएकाले धेरैमा मासु खान नहुने रहेछ भन्ने भ्रम सिर्जना गरेको किसान रत्न कार्कीले बताए । उनको खोरमा ३ हजार कुखुरा हुर्किएका छन् । लकडाउन हुनु अगाडि ३० दिनका भएका उनका कुखुरा ७० दिनका भएका छन् । ब्रोइलर कुखुरा ४५ दिनमा बिक्री गर्न सके मात्र किसानले लाभ लिन सक्छन् । तर, लकडाउन अघि नै एकमहिना कटेका कुखुरा विक्री नहुँदा किसानलाई पाल्दा झनै नोक्सानी बढ्दै उनको भनाइ छ । ब्रोइलर कुखुराको जीन नै छोटो आयुको भएकाले किसानले चाहेर पनि पाल्न सक्ने अवस्था नभएको उनी बताउँछन् ।
लकडाउनका कारण बजार नखुलेपछि कुखुरालाई दाना पुर्याउन समस्या भएपछि भुस र माटो खाँदा फार्ममै कुखुरा मरिरहेका किसान दिपक कार्की बताउँछन् । वैदेशिक रोजागारबाट फर्किएपछि तीन वर्षदेखि कुखुरापालनमा लागेका उनको फर्ममा २ हजार ५ सय ब्रोइलर कुखुरा छन् । उनको पनि १० लाख रुपैयाँको लगानी जोखिममा परेको छ । उनले कोरोनाका कारण जिल्लाका पोल्ट्री व्यवसाय नै धराशयी हुने स्थितिमा पुगेको बताए ।
जिल्लामा कुखुरालाई खुवाउने दानाको अभाव पनि कायमै छ । मासुका लागि विक्री गर्ने समय भएका कुखुरा सप्लायर्सले उठाउँदैनन । बजार क्षेत्रमा मासु खपत हुने भनिएपनि लकडाउनको प्रभावले सबै फ्रेस हाउस बन्द भएका छन् ।
अत्यावश्यक वस्तुको ओसारपसार र बिक्री गर्न पाइने सरकारले जनाए पनि ठाउँठाउँमा कुखुराको ढुवानीमा अवरोध भइरहेको किसानको गुनासो छ । प्रशासन र सुरक्षा निकायबाट ढुवानी र विक्रीमा सहजीकरण गरिदिने हो भने पनि किसानको नोक्सानी आधा घट्ने किसानहरूको भनाइ छ । किसानले ढुवानीका लागि सवारी पाससमेत पाउन नसकेको बताएका छन् । तर, धनकुटाका प्रमुख जिल्ला अधिकारी केशब प्रसाद विमलीले कृषिजन्य सामान ढुवानीका लागि सवारी पासको आवश्यकता नरहेको र कतै अवरोध भए खबर गरेमा तत्काल समस्या समाधान गरिने बताए । उनले अहिले परिस्थितीमा ठाउँठाउँमा चेकजाँच हुने र त्यसलाई अवरोध मान्न नहुने बताए ।