ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनकुटाका घरधनीहरूद्वारा घरभाडा मिनाहाको घोषणा

२०७७ बैशाख, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ईश्वर थापा

वैशाख १७, धनकुटा  । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न सरकारले देशमा गरेको लकडाउनको समय बढेसँगै धनकुटाका घरधनीहरूले आफूले भाडामा लगाउँदै आएको घरभाडा मिनाहाको घोषणा गर्न थालेका छन् ।

कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा सरकारले लकडाउनको अवधि बढाउँदा उद्योगी, व्यवसायीहरूको व्यवसाय धराशायी बन्दै गएपछि राहत स्वरुप धनकुटा र हिलेबजारका घरधनीहरूले स्वतःस्फूर्त रूपमा घरभाडा मिनाहाको घोषणा गर्न थालेका हुन् । 

लकडाउनको प्रत्यक्ष मारमा उद्योगी, व्यवासायी परेकोले केही हदसम्म भएपनि उनीहरूलाई राहत पुर्‍याउने उद्देश्यले धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई सहित एकदर्जन घरधनीहरूले लकडाउन अवधीभरको घरभाडा पूर्णरुपमा छुट दिने बताएका छन् ।

कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण व्यापार, व्यावसाय बन्द भई व्यावसायीहरूलाई ठूलो आर्थिक संंकट भएकाले धनकुटा नगरपालिका–५ धरहरा चौकको घरमा व्यापारीहरूले संचालन गरेको किराना पसल र खाजा घरको भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए ।

त्यस्तै धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट, हिले बजारका थामबहादुर लिम्बू र हेमकुमारी लिम्बू, जंग क्षेत्री, निरबहादुर गोम्देङ, धनकुटा नगरपालिका–६ का पूर्णकृष्ण श्रेष्ठ, युवराज निरौला लगायतले पनि लकडाउन अवधिको घरभाडा छूट दिने घोषणा गरेका छन् ।

धनकुटा नगरपालिका–१ हिले घर भई हाल बेलायत बस्दै आएका थामबहादुर लिम्बु र हेम कुमारी लिम्बुले आफ्नो तीन वटा घरमा व्यापारी तथा व्यावसायीहरूले संचालन गर्दै आएको डाँफे मुनाल ग्रील उद्योग, साथीभाई अफसेट प्रेस, खाजा घर, लगायत चार जना व्यावायीहरूलाई लकडाउन अवधीभरको घरभाडा पूर्णरुपमा मिनाहा गरिदिएका हुन ।

लिम्बू दम्पत्तिले यस अघि २०६२/ ०६३ सालको जनआन्दोलनको समयमा व्यापार, व्यवसाय बन्द हुदाँ पनि घरभाडा छुट दिएका थिए । उनको घरभाडा बापत मासिक एक लाख ५० हजार रकम संकलन हुने गर्दछ ।

लकडाउनको पालना गर्नु हरेक नागरिकको दायित्व भएकाले यस्तो संकटको समयमा हामीले व्यवसायीहरूलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले घरभाडा मिनाहा गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले बताए ।

उनले लकडाउन जति समयसम्म जारी रहन्छ, त्यति नै समयसम्म घरको भाडा नलिने घोषणा गरेको बताए । लकडाउनका कारण व्यवसाय चौपट भएको बेला घरधनीले घरभाडा मिनाहा गरेर आफुहरूलाई राहत मिलेको व्यवसायीहरूले बताएका छन् ।

लकडाउनका कारण डेढ महिनादिन देखि व्यवसाय बन्द छ । अब कसरी भाडा तिर्ने भन्ने चिन्तामा परेका व्यवसायी खुसी भएका छन् । न्यू डेनिसा टेलर्स धनकुटा नगरपालिका–१ हिलेका प्रोपाइटर देबेन्द्र दासले के खाने भन्ने चिन्ता बढीरहेको बेला घरभाडाले झनै तनाव भएको थियो तर, घरधनीको निर्णयले ठूलो राहत मिलेको बताए ।

उनले अन्य घरधनीहरूले पनि यो संकटको समयमा व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । उनले मासिक ५ हजार घरभाडा तिर्दै आएका थिए ।

यता, धनकुटा नगरपालिका–५ मा किष्मत किराना पसल संचालन गर्दै आएकी ज्ञानीमाया मगरले पनि घरधनीले घरभाडा मिनाहा गरेर आफुहरूलाई राहत पुगेको बताईन । महीना दिनदेखि पसल बन्द भएपछि विहान बेलुकाको छाक टार्न समस्या भएको बेला घरधनीले घरभाडा छूट दिएर ठूलो सहयोग गरेको मगरले बताईन ।

उनले भनिन्, ‘अब घरभाडाको चिन्ता हटेको छ । अब कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने भन्ने मात्र चिन्ता छ ।’ उनको श्रीमान् विदेशमा रहेका छन् भने बालबच्चा सहित उनी धनकुटामा भाडामा बस्दै किराना पसल संचालन गर्दै आएकी छिन् ।

कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि सरकारले लकडाउन घोषणा गरेसँगै व्यापार व्यावसाय बन्द भएका कारण व्यावसायीहरू ठूलो आर्थिक संकटमा परेकाले घरधनी, व्यापारी, व्यावसायी र उद्योगीहरूलाई  बैकको ऋणको व्याज छूट गर्नको लागि बैक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्दै आएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष राईले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)