धनकुटा । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको असर धनकुटाको गाईपालन व्यवसायमा पनि परेको छ । सरकारले लकडाउनको समयमा दूध, तरकारी लगायत दैनिक उपभोग्य वस्तुु ढुवानीका साधन सञ्चालन हुने भने पनि यसको कार्यान्वयन नभएपछि दुग्ध कृषक मर्कामा परेका छन् ।
लकडाउनका शुरुआती दिनहरूमा गाईका लागि आवश्यक दाना, भुसा, पराल लगायत मुश्किलले जोहो गरेका कृषक लकडाउन लम्बिएपछि समस्यामा परेका हुन् । ढुवानीका साधन नचलेर दाना, पराल ल्याउन नपाएपछि गाई बचाइराख्ने र उत्पादित दूधको बजार व्यवस्थापन कृषकका लागि चुनौती बनेको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेकटहरेका किसान डम्बर दाहालले आफ्नो गाईफार्ममा दैनिक १६० लिटर दूध उत्पादन हुने गरे पनि विक्री गर्न नसकिएको बताए । ‘एकातिर गाईलाई खुवाउने दाना अभाव भएको छ भने अर्कोतिर उत्पादित दूध विक्री हुनै सकेको छैन,’ उनले भने ।
छथर जोरपाटी गाउँपालिका–६ नामजाङमा रहेको जलकन्या दुग्ध उत्पादक संस्थाका अध्यक्ष नगेन्द्र थापाले संस्थामा संकलन हुने ३०० लिटर दूधमध्ये १०० लिटर मात्रै विक्री हुने गरेको बताए । सुनसरीको तरहरामा रहेको कामधेनु दुग्ध उत्पादक सहकारीले सबै कामदार घर गएको र बजार बन्द भएको भन्दै दूध खरीद घटाएकाले किसान मर्कामा परेको उनको भनाइ छ ।
दूध विक्री नहुँदा गाईलाई खुवाउने दाना खरीद गर्न नसक्ने अवस्था आएको उनले बताए । सरकारले गाईपालकका समस्या सम्बोधन नगरेको किसानहरूको गुनासो छ ।
नामजाङकै कृषक भरत गुरुङको समस्या पनि उस्तै छ । उनको गाई फाममा अहिले २० ओटा गाई छन् । दाना अभावले गाईको यसको मात्रा घटाउँदा दूध उत्पादन घटेको उनले सुनाए । त्यही दूधको पनि बजार व्यवस्थापनको समस्याले उनी चिन्तित छन् । फार्ममा उत्पादित करीब ३०० लिटर दूध तरहराको कामधेनु सहकारी संस्थामा विक्री भए पनि उत्पादन घटेको उनले बताए । ‘लकडाउन लम्बिरहे किसानहरू यो व्यवसायबाट पलायन हुनुपर्ने, बैंकको ऋणले घर, घडेरी, जग्गा जाने स्थिति छ,’ उनले भने, ‘समस्या समाधानका लागि सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।’
ढुवानी तथा विक्रीमा समस्या भएपछि किसानको घरमा दूध खेर जान थालेको छ भने उपभोक्ता यसबाट वञ्चित छन् । आफूहरूले दूध उत्पादन गरे पनि अधिकांश डेरी र अन्य पसल बन्द हुँदा विक्रीवितरणमा समस्या परेको जिल्लाका दुग्ध किसानको गुनासो छ ।
धनकुटा र तेह्रथुमका किसानले दैनिक २० हजार लिटर दूध निकासी गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र धनकुटाको तथ्यांक छ । तर, लकडाउनपछि दैनिक ५ हजार लिटर मात्रै निकासी हुने गरेको छ । लकडाउनको समय थपिँदै जाँदा दाना अभावले गाई भोकै मर्ने अवस्था आउने भन्दै किसानले चिन्ता गरेका छन् । गाईलाई आवश्यक पर्ने दाना, भुसा र परालको सहज आपूर्तिको समयमै व्यवस्था गर्न, उत्पादितको दूध विक्रीको प्रबन्ध मिलाउन र राहत प्याकेज घोषणा गर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।