वैशाख २२, वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगदे तथा मौसमी बाली खेती गर्ने किसानलाई ८० प्रतिशत दिने निर्णय गरेको छ । आइतवार नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
बन्दाबन्दीको कारणले विभिन्न बालीको खेती गर्न बीउबिजन, मल प्राप्त गर्न कठिनाइ हुने कृषकका लागि चालू आर्थिक वर्षका विभिन्न तालीम गोष्ठी आन्तरिक भ्रमण लगायत चालू खर्चतर्फ विनियोजिन गरिएका नगर तथा वडा तहका योजना कटौती गरी किसानहरूलाई अनुदान दिन लागेको नगरपालिकाले बताएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना (कोभिड-१९)को कारण देश लामो समय बन्दाबन्दीमा रहेको कारणले कृषिक्षेत्र प्रभावित हुन सक्ने भन्दै चालू आर्थिक वर्षमा नगदे बाली तथा मौसमी खेती गर्ने किसानलाई ८० प्रतिशत कृषि अनुदान दिने निर्णय गरेको हो ।
धान, मकै, बोडी, फर्सी,लौका, सिमी, चिचिण्डा, घिरौंला लगायत सिजनल तरकारी बालीको बीउबिजनहरूमा ८० प्रतिशत अनुदान दिने निर्णय भएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, ‘मल तथा विषादीमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेका छौं ।’
नगरपालिकाका विभिन्न क्षेत्रहरुमा व्यावसायिक फलफूल खेती गर्न चाहने व्यक्ति फर्महरुले कम्तीमा ३०० बिरुवा रोप्ने गरी आफ्नै जग्गाको व्यवस्थापनसहित प्रस्ताव पेश गरेमा कम्तीमा ५० प्रतिशत अनुदानमा निर्णय भएको वताइन् ।
यस्तै कृषि कार्य र विकास निर्माणका कार्य गर्न सम्भव नभई खाद्य संकट रहेका मजदूरहरुलाई नगरपालिकाले राहत उपलब्ध गराउने नगरपालिकाले निर्णय गरेको छ । खोलानालामा गिट्टी कुट्ने र बालुवा चाल्ने मजदुरहरुलाई भौतिक दूरी कायम गरि कार्य निरन्तरता दिने र उनीहरुको ज्याला पाउने व्यवस्था गरी राहत उपलब्ध नगराउने नगरपालिकाले निर्णय गरेको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
नगरपालिका क्षेत्रका सम्पूर्ण जग्गा जमिनमा खेती गर्ने र बाँझो नराख्न सबै जग्गा धनीहरुलाई आग्रह गर्ने उपप्रमुख ढकालले बताइन् । ‘कुनै जग्गा धनी आफैले बालीनाली लगाउन नसक्ने परिस्थितिमा सम्बन्धित वडा कार्यालयले समन्वय गरी जग्गा बाँझो नराख्ने निर्णय भएको छ ।’ उनले भनिन्,‘कुनै जग्गा धनीले खेती गर्न नसक्ने भए कुनै कृषकलाई जग्गा प्रयोग गर्न दिइने छ ।’