धनकुटा । कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण बन्द भएको धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । आर्थिक क्रियाकलापमा सुस्ती आउन नदिन सरकारले गत चैत २० गते सशर्त अनुमति दिएपछि उद्योगमै भएका जनशक्तिबाट सञ्चालन गरिएको हो । सुरक्षाका प्रोटोकल पालना गर्दै मजदूरलाई निःशुल्क खाने र बस्ने व्यवस्थासहित उद्योग सञ्चालनमा ल्याइएको प्रबन्धक सरोज सेढाईंले जानकारी दिए ।
लकडाउन अघि दैनिक १ सय २५ मजदूरले काम गरिरहेको उद्योगमा अहिले ५० मजदूरले काम गरिरहेका छन् । मजदूरलाई सामाजिक दूरी कायम गर्दै बेलाबेलामा स्यानिटाइजर प्रयोग गर्न लगाइएको छ । उद्योगमा कार्यरत झापा मोरङ, सुनसरी, उदयपुरमन र भारतीय केही मजदूर लकडाउन शुरू भएपछि हिँडेरै घर गए पनि फर्किन सकेका छैनन् । श्रमिकको अभाव हुँदा सरसफाइदेखि साना काममा पनि ठूलो समस्या भएको सेढाईंले बताए ।
उद्योगले लकडाउनअघि दैनिक ३५ सय बोरा सिमेन्ट उत्पादन गर्ने गरेकोमा हाल मुश्किलले दैनिक ५०० बोरा उत्पादन गरिरहेको बताएको छ । उद्योगका लागि आवश्यक पर्ने कोइला लकडाउन अगाडिकै केही परिमाणमा स्टक रहेकाले सञ्चालन गरिएको उद्योग व्यवस्थापनको भनाइ छ । स्टक रहेको कोइलाले करीब एक हप्ता पुग्ने र त्यसपछि पुनः उद्योग बन्द हुने अवस्था रहेको उद्योगका सञ्चालक दिनेश पौडेलले बताए । ‘उद्योगलाई आवश्यक पर्ने कोइला भारतबाट ल्याउने गरेका थियौं,’ उनले भने, ‘तर भारतमा पनि जारी लकडाउन भएकाले ल्याउन सक्ने अवस्था छैन ।’ यसैबीच, धनकुटा उद्योग वाणिज्य संघले उद्योगलाई नियमित सञ्चालन हुन आवश्यक पहल गरिने बताएको छ । अनुगमनमा गएको संघको टोलीले सुरक्षाका मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै सञ्चालनका लागि समन्वय गर्ने बताएको हो ।