वैशाख २४, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा अघि बढाइएका कृषि पकेट क्षेत्रहरुमा उपयुक्त प्रविधि वितरण शुरू गरेको छ ।
किसानको उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले अनुदानमा प्रविधि वितरण गरेको हो ।
प्रदेशका १० ओटै जिल्लामा आवश्यकता अनुसार कृषिसम्बन्धी उपकरण वितरण गर्न शुरू गरिएको बताएको छ । समूहमार्फत व्यावसायिक रूपमा कृषिलाई अघि बढाएका कृषकका लागि कृषि विकास निर्देशनालयको ५० प्रतिशत र बाँकी कृषि समूहको रकमबाट प्रविधि खरीद गरी वितरण गरिएको हो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले प्रदेशमा कोरोनाको महामारीले रोगभन्दा छिटो भोकमरी आउन सक्ने बताइन् । अब हरेक युवा कृषिमा व्यावसायिक हुनुपर्ने उनको भनाइ थियो । मन्त्री केसीले कृषि पेशालाई आधुनिकीकरण गर्दै व्यावसायिक बनाउनुपर्नेमा जोड दिइन् ।
कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सघाउन आफूहरुले सहजीकरण गरिररहेको र उत्पादनले बजार पाउँदैन कि भन्ने चिन्ता नगर्न पनि उनले आग्रह गरिन् ।
कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले प्रदेशका १० ओटै कृषि विकास कार्यालयमार्फत कृषकलाई कृषि सामग्रीमा अनुदान तथा सहुलियत प्रदान गरिरहेको बताए । सामग्रीको अनुदान वितरणको काम सामाजिक दूरी कायम गर्दै वितरण गरिएको उनको भनाइ छ ।
निर्देशनालयका अनुसार भेरीगंगा नगरपालिका–४, हर्रेमा रहेको कालिका तरकारी पकेट, गुर्भाकोट नगरपालिका– मेहलकुनास्थित गंगामाला तरकारी ब्लक, वडा नं.९ चिसापानीस्थित माझखण्ड तरकारी पकेट, वडा नं ५ थग्लेनीस्थित प्रगतिशील तरकारी पकेट समितिलाई हाते ट्र्याक्टर, प्लाष्टिक टनेल, स्प्रे, हजारी, पाइप, पानी ट्यांकी, बीउबिजन सहयोग गरिएको छ ।
निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोग र किसानको ५० प्रतिशत लागत सहभागिता गरी करीब ९० लाख रुपैयाँ बराबरको उपयुक्त प्रविधि हस्तान्तरण गरिएको छ ।