वैशाख २६, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले लकडाउनको मारमा परेका किसानलार्ई विशेष राहत उपलब्ध गराउने भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पीडित किसानलाई राहत र सहुलियत दिने तयारी गरेका बताएको छ । यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पीडित कृषकको विवरण संकलन समेत गरिरहेको छ ।
लकडाउनका कारण किसानको उत्पादन विक्री गर्न समस्या भएको छ । उनीहरुले उत्पादन गरेका वस्तु बारीमा कुहीने समस्या भएपछि उनीहरुलाई राहत उपलब्ध गराएर लागिएको हो । कृषकको उत्पादन बढाउन र सम्भावित भोकमरी टार्न कृषकका लागि विशेष राहत प्याकेज उपलब्ध गराउने योजना वनाएको मन्त्रालयले बताएको छ ।
बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर व्यवसायिक उत्पादन गरिरहेका कृषकले लकडाउनका कारण घाटा व्यहोरिरहेका छन् । बर्सेनि खाद्यान्न संकट व्यहोर्दै आएको कर्णालीमा यसपाली उत्पादन घट्ने अनुमान गरिएको छ ।
लकडाउनका कारण किसानले दूधजन्य उत्पादन र तरकारी विक्री गर्न पाएका छैनन् । यस्तै खेतीपातीको समय शुरु भए पनि मल र बीउ नपाएको कृषकको गुनासो छ । यस्तो अवस्थामा नोक्सानी व्यहोरेका कृषकलाई राहत उपलब्ध गराउन पीडित किसानको लगत संकलन भइरहेको कृषि तथा सहकारी मन्त्रालयले बताएको छ ।
खेती गर्ने समयमा कृषकलाई मल र बीउ सहज रुपमा उपलब्ध, गराउने कृषि उपकरण र मल तथा बीउमा अनुदान दिने र व्यवसायिक उत्पादन गर्ने किसानलाई बैंकको ब्याजमा सहुलियत दिने भुमि व्यावस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकरी दिइन् । कृषकलाई सहज रुपमा बीउ र मल पुर्याउन जिम्मा सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयलाई दिइएको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम कृषिलाई रोजगारीसँग जोड्ने खालका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिने जानकारी दिइन् । यस्तै खेतीपातीको समयमा किसानलाई सामाजिक दुरी कायम गरेर काम गर्ने वातावरण मिलाइएको मन्त्री विमला केसीले जानकारी दिइन् ।