वैशाख २७, धरान । धरान उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा कमी आएपछि नगरका ५० प्रतिशतभन्दा बढी योजना कटौती हुने भएको छ ।
कोरोनाको संक्रमितको संख्या बढ्दै गएको अवस्थामा सरकारले घोषणा गरेको लडाउन पनि लम्बिँदै गएपछि धरानको आन्तरिक राजस्व संकलनमा कमी आएको छ । यस्तै प्रदेश सरकारबाट आउने ३० करोड रुपैयाँ नआउने निश्चित भएको छ । सोही कारण वडाको योजना, नगर स्तरीय योजना ५० प्रतिशत भन्दा बढी कटौती हुने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।
उनका अनुसार शुरू नभएको नगर गौरवका योजना र वडाका योजनाहरू कटौती, सम्झौता नभएका योजनाको सम्झौता नगर्ने, भर्खर मात्र शुरू भएका तर पूरा नभएका योजना कार्यान्वयन नगर्ने र जुन योजनाहरू ८० प्रतिशत काम भइसकेको छ, तिनीहरू मात्र अघि बढने भएका छन् । लकडाउनका कारण धरानको भौतिक पूर्वाधार विकासको बजेट कटौती गरेर उपमहानगरपालिकाले राहत वितरणमा खर्च गर्नुपर्ने अवस्था आएको मेयर राईले बताए ।
उनले भने, ‘विदेशबाट र विभिन्न संघसंस्थाबाट भएको सहयोग २० देखि २५ प्रतिशत मात्र राहतमा सहयोग भएको छ । बाँकी ७५ प्रतिशत बजेट उपमहानगरपालिकाकै बजेटबाट व्यवस्थापन गर्नुपरेको छ ।’ राहत सहयोगमा खर्च भएको रकम कुनै न कुनै योजना, भौतिक पूर्वाधार, चालू बजेटबाटै कटौती गर्नुपर्ने स्थिती रहेको उनले बताए ।
योजना कटौती गरेर राहतमा रकमान्तर गर्न केही समयको लागि मात्र भए पनि नगरसभा बस्नुपर्ने हुन्छ । यसका लागि पारदर्शिता र प्रक्रिया पूरा गर्न नगर सभा छोटो समयका लागि भए पनि बस्ने मेयर राईले बताए ।