वैशाख २८, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी शुरू गरेको छ । प्रदेश सरकारले रू. ३५ अर्बसम्मको बजेट ल्याउने गरी मन्त्रालय तथा मातहतका निकायहरूसँग छलफल थालेको हो ।
नीति तथा कार्यक्रम, बजेटका साथै अत्यावश्यक प्रशासनिक कार्यसम्पादन गर्नुपर्ने भएकाले लकडाउनमा कार्यालय खोल्ने निर्णय प्रदेश सरकार गरेको हो ।
कर्णाली प्रदेशका, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय अनुसार वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीमा आफूहरू जुटेको बताए । प्रदेश सरकारले ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार कर्णाली समृद्धिका लागि दिगो पूर्वाधार’ नाराका साथ समृद्ध कर्णाली निर्माणका लागि बजेटको तयारी भइरहेको उनले जानकारी दिए ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसको एक साताअघि वार्षिक नीति तथा कार्यक्रम ल्याइसक्नुपर्छ । आर्थिक मन्त्री ज्वालाले आगामी वर्ष पनि कोभिड १९ संक्रमण, रोकथाम र उपचारका लागि बजेट केन्द्रित गर्नुपर्ने बाध्यता कायमै रहने बताए ।
अहिलेसम्म परिस्थिति सामान्य नभएकाले आगामी वर्षको बजेटको आकार घट्ने र प्राथमिकता पनि फेरिने उनको भनाइ । रू. ३५ अर्बसम्मको बजेट ल्याउने तयारी गरिए पनि यसको आकार अझै घट्न सक्ने उनले बताए ।
‘हालको अवस्था हेर्ने हो भने बजेटको प्राथमिकतामा स्वास्थ्य र कृषि हुन्छन्,’ उनले भने, ‘कृषि उत्पादन र रोजगारी बढाउने किसिमको बजेट निर्माणको काम भइरहेको छ । व्यावसायिक उत्पादन र सुरक्षामा ध्यान दिने बजेट आउँछ ।’ यो वर्षको बजेट वितरणमुखी नहुने प्रतिबद्धता उनले व्यक्त गरे ।
अघिल्ला वर्षका बजेटहरूमा प्रदेश सरकारले कृषि, सडक, पर्यटन र पूर्वाधारलाई विशेष जोड दिंदै आएको थियो । चालू आवमा कर्णाली सरकारले रू. ३४ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो ।