ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एकतर्फी खुल्यो मेची नाका : आइतवार ४० लाख राजस्व संकलन

२०७७ बैशाख, २९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । एक महीनादेखि बन्द काँकडभिट्टास्थित मेची भन्सार नाकाबाट शनिवारदेखि आयातित सामान भित्रिन थालेको छ । भारतको पानीटंकी नाकाबाट शनिवार ३१ र आइतवार ३० गरी ६१ ओटा मालवाहक मेची भन्सारको यार्डमा प्रवेश गरेका छन् । आइतवार २५ ओटा मालवाहकको जा“चपास भएको छ । यसबाट ४० लाख राजस्व संकलन भएको मेची भन्सारका प्रमुख भन्सार अधिकृत ध्रुवबहादुर विश्वकर्माले बताए ।

पश्चिम बंगाल भन्सार विभागले शनिवारबाट एकतर्फी रूपमा नाका खोलेर मालवाहक सवारी नेपालतर्फ पठाएको हो । नेपालबाट भारततर्फ जाने मालवाहकलाई लगाएको रोक भने यथावत् छ । नेपालबाट भारततिर जाने सामान र ढुवानीका साधनलाई भने प्रवेश नदिइएको मेची भन्सारका प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।

नाका एकतर्फी खुलेपछि मेचीका उद्योगी व्यवसायीमा उत्साह थपिएको छ । नाका सञ्चालनमा आउँदा उद्योगको कच्चापदार्थ र व्यापारिक सामानको आयात सहज हुनु सकारात्मक भएको उद्योगी व्यवसायीले प्रतिक्रिया दिएका छन् । नाका चाँडै दुवैतर्फ सुचारु हुनेमा उनीहरू आशावादी देखिएका छन् ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले एकतर्फी नाका खुल्दा पनि यहाँको औद्योगिक र व्यवसायको क्षेत्रमा सकारात्मक तरंग ल्याएको बताए । उनले नेपालबाट समेत मालवाहक जाने व्यवस्थाका लागि पहल शुरू गरेको र चाँडै दुवैतर्फको नाका सञ्चालनमा आउने आशा व्यक्त गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले नाका सुचारु हुनु सकारात्मक भएको बताउँदै नेपालबाट निकासी हुने अम्रिसो, अदुवा र अलैंची पठाउनसमेत सहज वातावरण बन्नुपर्ने उल्लेख गरे । मेचीनाकाबाट कच्चा पदार्थ ल्याउन सजिलो भएपछि लकडाउनका कारण ४७ दिनदेखि बन्द उद्योगहरू खोल्न सहज हुने उनले बताए ।

भारतको पश्चिम बंगाल सरकारले कोरोनाको कारण देखाउँदै चैत्र २९ गतेदेखि पानीटंकी नाका बन्द गरिदिएको थियो । नाका खुलाउन भारतको दिल्लीस्थित नेपाली दूतावासले समेत पहल गरेको थियो ।

दिल्लीस्थित नेपाली दूतावासकी काउन्सिलर नीता पोखरेलले नाका खुलाउने विषयमा भारतको विदेश मन्त्रालयमा लिखित र मौखिक दुवै पहल गरिएको जानकारी दिएकी थिइन् । अन्तरराष्ट्रिय नाका प्रान्तीय सरकारले बन्द गर्न नपाउने व्यवस्था हँुदाहँुदै पनि विशेष परिस्थितिको कारण देखाउँदै पश्चिम बंगाल सरकारको भन्सार विभागले १ महीनाअघि नाका बन्द गरेको थियो । नाका बन्द भएपछि भुटान, बंगलादेशसहित तेस्रो मुलुकसँगको आयातनिर्यात ३० दिन ठप्प भएको थियो ।

सहज परिस्थितिमा मेची भन्सार कार्यालयले मासिक रू. १ अर्बभन्दा बढी राजस्व उठाउँदै आएको थियो । कूटनीतिक छलफल र सल्लाह नै नगरी कोरोना भाइरसको कारण देखाउँदै पानीटंकी नाका र सुकिया पोखरी नाका बन्द गरेपछि बंगलादेश र भुटानसँगै तेस्रो मुलुकसँगको व्यापारसमेत प्रभावित भएको थियो ।

भारतको केन्द्रीय सरकारले नेपालका अन्य नाका बन्द गर्दा पनि वनबासा, सुनौली, रक्सौल र काँकडभिट्टा नाकाबाट हुने मानिसको आउजाउलाई समेत कुनै रोक नलगाइने घोषणा गरेको थियो । तर, केन्द्र सरकारको निर्णयविपरीत पश्चिम बंगाल सरकारको आदेशमा चैत २९ गतेबाट नाका पूर्णरूपमा बन्द गरिदिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)