सल्यान २९, वैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण यातायातका साधन सञ्चालन नभएपछि सल्यानका यातायात व्यवसायी संकटमा परेका छन् । लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पूर्णरूपमा प्रभावित बनेको छ भने ढुवानीका साधन पनि छिटफुट मात्रै चलेका छन् । यातायात क्षेत्र प्रभावित हुँदा यातायात व्यवसायी र यातायात क्षेत्रका मजदूर संकटमा परेका हुन् ।
लकडाउन भएसँगै दैनिक काम गरी गुजारा चलाउने मजदूरहरूलाई घरखर्च चलाउन मुश्किल भएको छ । जिल्लामा सल्यान रुकुम यातायात प्रालि, सल्यान शारदा यातायात प्रालि, कुमाख यातायात प्रालि र शारदा यातायात प्रालिमा गरी १५० बढी सवारीसाधन रहेका छन् । यस्तै शिव गुफा यातायात प्रालि र आरएस यातायात प्रालिमा गरी १०० भन्दा बढी अटो रहेका छन् ।
यातायात व्यवसायी कुलबहादुर पुनले लकडाउनका कारण यातायात व्यवसायी धेरै मर्कामा परेको बताए । अहिले गाडीको किस्ता तिर्न समेत समस्या भएको उनको भनाइ छ । ‘झण्डै २ महीना हुन थाल्यो, गाडी चलेको छैन्, मासिक ४६ हजार गाडीको किस्ता मात्रै तिर्नुपर्छ, चालकलाई तलब दिनुप¥यो, त्यही गाडीले कमाएको पैसाले घरखर्च चलाउँदै आएको थिएँ, अहिले निकै समस्या भएको छ,’ उनले भने ।
कोरोना भाइरसको संक्रमण बढेसँगै गरिएको लकडाउनले यतिबेला यातायात व्यवसायीहरू सबैभन्दा बढी मर्कामा परेको सल्यान शारदा यातायात सेवा प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले बताए । ‘सबै यातायात व्यवसायीहरूले बैंक लोनमा गाडी किनेका हुन्छन्, यस्तो अवस्थामा धेरै व्यवसायीले किस्ता तिर्न सकेका छैनन्,’ उनले भने । अहिले यातायात प्रालि र व्यवसायीको आर्थिक अवस्था कमजोर रहेको उनको भनाइ छ ।
लामो समयदेखि यातायात क्षेत्रमा व्यावसायिक रूपमा जोडिएका सबै मजदूरहरू दोहोरो मारमा परेको सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरविन्द्र कुमार राईले बताए । लकडाउनको प्रत्यक्ष मारमा परेका यातायात व्यवसायीका लागि सरकारले राहतका कार्यक्रम सञ्चालन नगर्दा झन् समस्या भएको उनको भनाइ छ । लकडाउन खुले लगत्तै पनि बैंक किस्ता तिर्न समस्या हुने यातायात व्यवसायीको भनाइ छ । यातायात क्षेत्र पहिलेकै अवस्थामा जान न्यूनतम एक वर्ष लाग्ने व्यवसायीहरूले बताउने गरेका छन् ।