ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनले गर्‍यो पेशा र व्यवसायमा परिवर्तन

२०७७ जेठ, २  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
लकडाउन अघि विरयानी हाउस खोलेका अमित देव लकडाउन पछि त्यहि स्थानमा तरकारीको पसल राखेर तरकारी विक्री गर्दै
author avatar वेदराज पौडेल

जेठ २, विराटनगर । ५० दिन अघिसम्म उनलाई जीवनमा यस्तो संकट आउला भन्ने हेक्का थिएन । गर्दै आएको व्यवसाय छाडेर लगभग सडकमै आउनु पर्ला भनेर उनले सपनामा समेत सोचेका थिएनन् तर भयो त्यस्तै  । 

विराटनगर– ५ मुनाल पथका अमित देवले एक वर्षदेखि होटल तथा विरयानी हाउस विराटनगर– ४ स्थित महानगरपालिकाको ढाटछेउमा खोलेका थिए । उनले रू. १ लाख ५० हजारको लागतमा खोलेको विरयानी हाउसबाट मासिक रू.५० हजार कमाइ दिन थाल्यो ।

६ जनाको परिवारको दैनिकी फेरियो । कमाइ मनग्य हुन थालेपछि उनी दंग परे । तर लकडाउनको कारण  विरयानी हाउस चल्न सकेन ।
 

होटलको सबै सजावट र सामानहरु अर्काे कोठामा थन्क्याएर उनी अहिले तरकारी विक्री गरिरहेका छन् । विराटनगरको तरकारीको थोक बजार गुद्री बजार बन्द भएको कारण अहिले चोक– चोकमा नया“ तरकारी पसलहरु खुलिरहेका छन् । 

तरकारी पसल खोल्नेहरु पुराना तरकारी व्यापारी भने होइनन् । देवजस्ता अन्य पेशाबाट लकडाउनको कारण विस्थापित भएकाहरुले जीविको चलाउन खोलेका यी र  यस्ता पसलहरु हुन् । देव भन्छन् ‘विरयानी हाउस संचालन गर्दाको इज्जत र सान अहिले सब्जी पसलमा छैन, त्यसैले म अरुले नचिनुन् भनेर मास्क लगाएर तरकारी बेच्छु ।’

त्यसैगरि विराटनगरकै रमण गेलाल पहिले सीटी सफारी चलाएर दैनिक रू. १ हजार कमाइरहेका थिए । लकडाउन पछि प्रहरीले सडकमा सिटी सफारी निकाल्न दिएनन् । दैनिक जिविको पार्जनका लागि केही गर्नै पर्ने अवस्था आयो । उनले सफारीमा सुनसरीबाट तरकारी ल्याएर विराटनगरका गल्लीमा विक्री गर्न थाले । 

दैनिक रू. ३०० देखि ४०० तरकारी विक्रीबाट नाफा भइरहेको उनी बताउँछन् । त्यतिकै बस्नुभन्दा बरु तरकारी विक्री गर्दा अलिअलि आम्दानी हुन्छ र परिवारको खर्च धान्न सजिलो हुन्छ भनेर आफुले फरक पेशा गरेको उनले बताए । 

त्यसै गरि विराटनगरको बरगाछीमा दैनिक खसीको मासु काटेर विक्री गर्दै आएका कर्माेद्धिन मियाको पनि दैनिकी र पेशा कोरोनाले परिवर्तन गरिदियो । दैनिक  दुई ओटा खसी काटेर ४० देखि ५० किलो मासु विक्री गर्दा दैनिक रू.३०० सम्म कमाइहुन्थ्यो ।

त्यो कमाइले १० जनाको परिवार पाल्न उनलाई कुनै समस्या थिएन । लकडाउनको दोश्रो साताबाटै उनलाई घर चलाउन आर्थिक समस्या पर्न थाल्यो । महानगरले मासु पसललाई कडा रुपमा बन्दगर्ने निर्णय गरेपछि आर्थिक समस्यामा परेका कर्माेद्धिनले ठेलामा तरकारी विक्री गर्ने निर्णय गरे ।

तरकारीलाई अति आवश्यक खाद्यान्नको रुपमा सरकारले विक्रीका लागि प्रतिबन्ध नगरेपछि उनी त्यसतिर आकर्षित भए । दैनिक रू.५० भाडामा ठेला लिएर उनले टमाटर, आलु, काँक्रा, भिण्डी लगायतको तरकारी विक्री गर्न थाले । दैनिक रू.१ हजार सम्मको तरकारी विक्री गर्दा रू.३०० नाफा हुने गरेको छ । 

आम्दानी नै नगरि घरमा बस्नुभन्दा विहान–बेलुका लकडाउन खुकुलो भएको समयमा तरकारी विक्री गरेर जिबिको गर्नुनै उत्तम भएको उनी बताउँछन् । उनी भन्छन् ‘हिजोको व्यबसाय देखेर राहत पनि दिएनन्, घरमा खर्च चलाउन समस्या छ अब तरकारी नबेचेर के गर्नु ?’

बुढीगंगा गाउँपालिकाका अजमल हुसैन लकडाउनभन्दा पहिले घर निर्माणको काम गर्थे । उनी घर बनाउने मिस्त्री हुन् । दैनिक रू. १ हजार ज्याला कमाउने उनी लकडाउनको कारण समस्यामा परे । दुई सातासम्म चुपचाप बसेका उनले तेश्रो सातादेखि साइकलमा सबै साइजको चप्पल राखेर गाउँ-गाउँ गएर विक्री गर्न थाले । जसबाट दैनिक करीब रू.१०० देखि २०० सम्म नाफा कमाउँछन् । दैनिक रू.१ हजार कमाउने उनी अहिले रू.२०० ले दैनिकी चलाइरहेका छन् । उनी भन्छन् ‘सरकारले हाम्रो बारेमा सोचेन भने र लकडाउन पूर्णरुपमा कडा भयो भने विहान–बेलुका छाक टार्न सक्ने अवस्था छैन ।’

विराटनगर विमानस्थलको मोडमा रू.१७ लाख खर्च गरेर वैशाख महीनाको दोश्रो साता फाष्टफूड एण्ड क्याफे खोल्ने अन्तिम तयारीमा रहेका दिपेन्द्र उराव क्याफेकै अगाडी टेबुलमा पसल लगाएर विहान तीन घण्टा र बेलुका एक घण्टा तरकारी विक्री गरिरहेका छन् ।

 आफुसँग भएको पैसा र ऋण लिएको पैसा सबै लगानी गरेर क्याफे संचालन गर्नै लाग्दा लकडाउन भएपछि उनी समस्यामा परेका छन् । बैंकको ब्याज बढेको बढ्यै छ भने घर खर्च चलाउने पैसासमेत छैन । त्यहि भएर क्याफेकै अगाडी बाध्य भएर तरकारी पसल खोलेको छु ।

 तरकारी, दूध, दैनिक उपभोग्य बस्तु विक्री गर्न विहान तीन र बेलुका दुई घण्टा पसल खोल्न दिइएको छ । त्यहि बेला भएको तरकारी विक्रीबाट आउने दैनिक रू.२५० ले अहिले घर खर्च चलाइरहेको उनी बताउँछन् । 

क्याफेबाट मासिक रू. ३ लाखको व्यापार गर्ने र खर्च कटाएर रू.५० हजार बचत गर्ने योजनाका साथ उनले खाली जमीन भाडामा लिएर हलसहितको क्याफे निर्माण गरे । आधुनिक जीवन शैली अपनाउन चाहने ग्राहक तान्ने हिसाबले त्यहि अनुसारको सजावटसहित खोल्न लागेको क्याफे खुल्नु अघिनै बन्द भएको छ ।  

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[May 20, 2020 04:26am]

यस्ता मित्रहरुलाई बुद्धिमान र इमानदार व्यवसायी भनेर समाजले सम्मान गर्नुपर्छ । ठूला व्यवसायी भनाउँदाहरु चाहिं सरकारबाट छूट्, राहत र सहुलियत हडप्नमा लागिपरेको बेला यस्ता परिश्रमी व्यक्तिहरुले समाजमा आवश्यक सेवा प्रवाह गर्दै आफ्नो मेहनतको आम्दानी उपभोग गर्दैछन् । सह्राहना छ ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)