ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विषादी किन्न नपाएपछि प्याजमा लाग्यो रोग

२०७७ जेठ, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

जेठ ३, सल्यान । बारीमा रोपेको प्याजमा रोग लागेपछि सल्यानका किसान चिन्तित बनेका छन् । व्यावसायिक रूपमा प्याज खेती गर्दै आएका किसानहरू प्याजमा रोग तथा कीरा लागेपछि चिन्तित बनेका हुन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नं १ नाम्राका किसानहरू अहिले समस्यामा परेका छन् । यस क्षेत्रमा मात्रै करीब १ सय ५० रोपनी क्षेत्रफलमा किसानले प्याजखेती गर्दै आएका छन् ।

रोग र कीराले प्याजखेतीमा क्षति पुर्‍याएको किसानहरूको गुनासो छ, जसका कारण यस बर्ष लगानी समेत उठाउन धौ–धौ हुने उनीहरू बताउँछन् । प्याजको बोट पहेलो हुँदै सुक्ने र कीराले काटिदिन थालेपछि उत्पादनमा कमी आउने बन्गाड कुपिण्डे नगरपालिका–१ नाम्राका किसान वीरबल खत्रीले बताए । १३ रोपनीमा प्याज खेती गरेका खत्रीले प्याजको डाँठ कीराले काटिदिएको बताए । उनले भने, ‘गतवर्ष यही १३ रोपनीमा ६० क्विन्टल उत्पादन गरेर विक्री गरेको हुँ, तर यो वर्ष मुश्किलले २० क्वीन्टल उत्पादन हुने अनुमान गरेको छु ।’ प्याजमा लागेको रोग र कीराले गर्दा उत्पादन घट्ने उनले बताए । 

अन्य हिउँदे बालीभन्दा प्याजको उत्पादन राम्रो हुने र लगानी पनि कम लाग्ने भएपछि प्याजखेतीमा लागेको भए पनि रोग र कीराले समस्या बनाएको किसान कमल पोखरेलले बताए । नाम्राका झन्डै ६० घरले व्यावसायिक प्याजखेती गरी रहेको बताउँदै उनले यो वर्ष मुश्किलले लगानी उठ्ने बताए । उनले भने, ‘विगतका वर्षहरूमा प्याजले राम्रो मुल्य पाएपछि गहुँ, मसुरो चना लगाउन छाडेर प्याज खेतीमा लागेका थियौं, तर यो वर्ष लगानी उठाउन नै गाह्रो हुने भयो ।’ 

प्याजखेती गरेर ६ जनाको परिवार पाल्दै आएकी ४० वर्षकी जितकला बुढाले पनि पोहोर ७० हजार रुपैयाँ कमाएको बताइन् । ‘प्याजबाट राम्रै आम्दानी हुन्छ भनेर खाद्यबाली लगाउन छाडियो,’ उनले भनिन्, ‘रोगले गर्दा धेरै बोट मरे । बाँचेकामा पनि गाना मात्रै छ ।’ नाम्राबाट मात्रै वार्षिक ४०० देखि ५०० क्विन्टलसम्म प्याज उत्पादन हुने गर्छ । उत्पादित प्याज स्थानीय सल्लीबजार लगायत सुर्खेत, नेपालगन्जमा विक्री हुने गरेको छ । लकडाउनका कारण विषादी खरीद गर्न जान नसकेका कारण समयमै कीटनाशक औषधि छर्कन नपाएको उनीहरूको गुनासो छ । कृषि प्राविधिकको अभावमा रोगको पहिचान गर्न नसक्दा उत्पादनमा ५० प्रतिशत गिरावट आउने उनीहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)