जेठ ५, धनकुटा । धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको पूष्टि भएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने तयारी गरिएको छ ।
अस्पतालमा कार्यरत ५५ जना स्वास्थ्यकर्मीको पहिलो चरणमा परीक्षण गरेर दोस्रो चरणमा विगत १५ दिनभित्र स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्पर्कमा आएका मानिसको पहिचान गरी परीक्षणको तयारी गरिएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पुजन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार परीक्षणका लागि आवश्यक सामग्री प्रदेश १ सामाजिक विकास मन्त्रालयमा मगाइएको छ ।
जिल्लामा करीब ५ सयको कोरोना परीक्षण गरिने भएको छ । आइतवार कोरोना पुष्टि भएकी जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीलाई कसरी कोरोना संक्रमण भएको पुष्टि भएको छैन । लकडाउन भएदेखि सबै स्वास्थ्यकर्मीहरू कोही पनि बाहिर नगएको र नियमित अस्पतालमा उपचारमा खटिएकोले बिरामीबाटै सरेको प्रारम्भिक निष्कर्षमा पुगेको विश्वकर्माको भनाइ छ ।
पछिल्लो समय धनकुटामा बाहिरबाट धेरै मानिस आएको कारणले संक्रमित बिरामी को थिए, कहाँबाट आएका थिए भन्ने पत्ता लगाउन निकै मुश्किल भएको छ ।यसैबीच धनकुटा जिल्ला अस्पतालकी कोरोना संक्रमित महिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको छ ।
संक्रमित स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्र पठाइएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।