ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा खाद्य संकट समाधानका लागि सहकारी अभियान

२०७७ जेठ, ७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले खाद्य संकटका लागि सहकारी अभियान  सञ्चालन गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको संयोजकत्वमा सहकारी क्षेत्रमा आबद्ध कर्णाली प्रदेशका प्रमुख तथा राष्ट्रिय प्रतिनिधिसँगको  भर्चुअल बैठकले खाद्य संकट टार्न ‘उत्पादन वृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘बन्दाबन्दीपश्चात् कर्णालीमा खाद्य संकट हुन सक्छ,’ मन्त्री केसीले भनिन्  ‘यसलाई दृष्टिगत गरी हामीले बैठकबाट विभिन्न निर्णय गरेका छौं, जसको कार्यान्वयन गरी यहाँको खाद्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।’

कर्णाली प्रदेशका सबै सहकारीलाई सम्भावित खाद्य संकट न्यूनीकरणका लागि उत्पादन अभियानमा आबद्ध गर्ने, कृषि क्षेत्रमा लगानी गर्न चाहने शेयर सदस्य तथा समूहलाई सहुलियत ऋण उपलब्ध गराउने, लकडाउनको पालना गर्दै सहकारीको अत्यावश्यक सेवा प्रवाह गर्ने निर्णय गरिएको केसीले जानकारी दिइन् । यस्तै बाँझो जमीन उपयोग गरी खेती गर्न चाहने समूह तथा शेयर सदस्यलाई लिज जग्गा, सहुलियत, मल, बीउ, बेर्ना, भुरा, चल्ला उपलब्ध गराउन सरकारसँग सहजीकरण गर्ने, बजारीकरणमा सघाउने, आगामी एक हप्ताभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुझाव दिने, प्रदेशभरिका सहकारीले कोरोना प्रतिकार्यमा पु¥याएको भूमिकाको प्रतिवेदन तयार गर्ने निर्णय पनि भएको मन्त्री केसीले बताइन् ।

मन्त्री केसीका अनुसार कोरोनाबाट बच्न सहकारीका शेयर सदस्यमाझ सचेतनाका कार्यक्रम सञ्चालन गर्ने र सहकारीको दैनिक कार्य सञ्चालन तथा सेवा प्रवाह गर्न लकडाउनको अवधिभर आवश्यक पर्ने सवारी तथा कार्य सञ्चालन अनुमतिपत्रका लागि कृषि मन्त्रालयले सहजीकरण गर्ने निर्णयसमेत भएको छ । बैठकका सहभागीले मुख्यगरी कर्णाली प्रदेशको उत्पादनलाई रोजगारीसँग जोड्ने, कृषिमा लगानी वृद्धि गर्ने, स्वदेश तथा विदेशबाट गाउँ फर्केका युवालाई स्वरोजगारका कार्यक्रममा संलग्न गराउन सुझाव दिएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)