जेठ ७, धनकुटा । अनिश्चित कालका लागि बन्द भएको धनकुटा अस्पताल सञ्चालमा आउने भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई गत आइतवार कोरोना भाइसरको संक्रमण देखिएपछि अनिश्चित कालका लागि बन्द गरिएको थियो ।
धनकुटा कोभिड १९ कमाण्ड फोर्सको बुधवार बसेको बैठकले धनकुटा अस्पतालमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनमा राखेर अस्पतालमा सेनिटाइज गरेर सञ्चालनमा ल्याइने निर्णय गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड-१९ कमाण्ड फोर्सका सदस्य सचिव जयराम श्रेष्ठले बताए ।
उनले धनकुटा अस्पताल सञ्चालन नभएसम्मका लागि धनकुटा ६ मा रहेको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालबाट अस्पतालको सबै सेवा सञ्चालन गरिने बताए ।
धनकुटा अस्पतालका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि स्वास्थ्यकर्मी र अस्पतालको व्यवस्थापन नभएसम्म आँखा अस्पतालबाट सेवा सञ्चालन गरिने भएको हो ।
स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेपछि धनकुटाको डाँडाबजार र जीतपुरबाट केही स्वास्थ्यकर्मी ल्याइने र अन्य स्वास्थ्यकर्मी प्रदेश सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै धनकुटामा आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टाइमकार्ड लागू गर्ने निर्णय भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले जानकारी दिए ।
धनकुटा जिल्लाभित्रबाट ढुवानी गरिने ढुंगा, गिटी, बालुवाका सवारीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र जिल्ला बाहिरबाट ढुवानी गरिने सिमेन्ट, रड बोक्ने सवारीलाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुन दिइने भएको छ ।