ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मकैबालीमा फौजी कीराको प्रकोप : सल्यानमा खाद्य संकटको चिन्ता

२०७७ जेठ, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा किसानले लगाएको मकैबालीमा पहिलोपटक फौजी कीराको प्रकोप देखिएको छ । जिल्लाको कुमाख गाउँपालिकाका किसानले लगाएको मकैबालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकैबालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी कीराको आक्रमणपछि खाद्य संकट पर्ने चिन्तामा छन् । मकै सल्यानको मुख्य खाद्य बाली हो ।

कुमाख गाउँपालिकाका रागेचौर, स्यानीपिप्ली, शान्तिबजार, भण्डारखोला, झारकाँडा लगायत स्थानका किसानले लगाएको मकैमा फौजी कीराको प्रकोप देखिएको हो । मकैमा दाना लाग्ने बेला फौजी कीराले सताएको रागेचौरका किसान मेघबहादुर शाहले बताए ।

‘मकैले धानचौर गर्ने समय भएको छ, तर फौजी कीराले बाली नै सखाप पार्ने भयो,’ उनले भने, ‘राम्रो उत्पादन हुने भएपछि हामीले मकैखेती शुरू गरेका थियौं, विगतमा यस्तो प्रकोप थिएन, पहिलोपटक मकैमा यस्तो समस्या देखापरेको छ ।’ अर्का किसान प्रकाश चन्दले आफूले लगाएको मकै पनि कीराले खाएर सखाप पारेको बताए ।

कुमाख गाउँपालिकाका १८० घरधुरीले २२ हेक्टर क्षेत्रफलमा लगाएको मकैमा फौजी कीराको प्रकोप देखापरेको कृषि विकास कार्यालय सल्यानले बताएको छ । कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जिल्लामा पहिलो पटक फौजी कीराको प्रकोप देखिएको जानकारी दिए । उनले यस क्षेत्रको मकैमा लागेको कीरा नियन्त्रण गर्न नसकिने उनको भनाइ छ । ‘पहिलो र दोस्रो चरणको अवस्थामा औषधि प्रयोग गरेर कीरा नियन्त्रण गर्न सकिन्छ, तर कुमाखमा तेस्रो र चौथो चरणमा प्रवेश गरेको पाइयो छ, यसलाई नियन्त्रण गर्न सकिँदैन,’ उनले भने ‘पाखोबारीमा रोपेको मकैमा पनि प्रकोप फैलन सक्ने भएकाले सतर्कता अपनाउन हामीले किसानलाई सुझाव दिएका छौं ।’

फौजी कीरा मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने उनले बताए । ‘यो राति चर्न मन पराउँछ, बालीमा क्षति पुर्‍याउने कीराको लार्भाले हो, फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ, मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ,’ उनले भने । मकैमा लागेको फौजी कीराले उत्पादनको ७० देखि ८० प्रतिशतसम्म क्षति प¥याउने उनको भनाइ छ ।  जिल्लाको कपुरकोट लगायत क्षेत्रमा लगाएको मकैमा पनि प्रकोप देखिएको सुनिए पनि आधिकारिक जानकारी नआएको कार्यालयको भनाइ छ । जिल्लाभर करीब १९ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)