वीरेन्द्रनगर । कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शुक्रवार कर्णाली प्रदेशसभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्र्दै उनले जलविद्युत् तथा पर्यटन विकासको क्षेत्रमा लगानी बढाइने बताएका छन् । ‘कर्णालीको पानी : जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश प्रमुख कलौनीका अनसार निजीक्षेत्रसँगको सहकार्यमा आकर्षक र प्राविधिक रूपले योग्य जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । आधारभूत विद्युत् सेवा नपुगेका स्थानमा लघु जलविद्युत् तथा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युतीकरण गर्न कर्णाली उज्यालो कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । पर्यटन क्षेत्रको विकास गरेर कर्णालीको आर्थिक वृद्धिमा योगदान पुर्याइने उनले बताएका छन् । प्रदेश सरकारले कोरोनाविरुद्ध ठूलो जनशक्ति परिचालन गरेको उनको भनाइ छ । ‘प्रदेश सरकारले कोरोना प्रभावितलाई राहत, क्वारेन्टाइन, स्वास्थ्य जाँच व्यापक बनाएको छ,’ उनले भने ।
नीति तथा कार्यक्रममा कर्णाली प्रदेशका सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माणका साथै दैलेखको आठबिस नगरपालिकाको राकममा ट्रमा सेन्टर स्थापना गरिने उल्लेख छ । कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा हुने दुर्घटना लक्षित गर्दै राकममा ट्रमा सेन्टर स्थापना गर्न लागिएको प्रदेश प्रमुख कलौनीले बताएका छन् । यसैगरी सबै जिल्ला अस्पतालमा कम्तीमा १ सय शय्याको आइसोलेन, ५ शय्याको आईसीयु र एक भेन्टिलेटरको व्यवस्था गरिने भएको छ । युवालाई उद्यम र रोजगारी दिन मुख्यमन्त्री युवा उद्यमी कार्यक्रम सञ्चालन नीति तथा कार्यक्रममा समेटिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि विषेश कार्यक्रम ल्याइने भएको छ । जगदुल्ला र भेरी बबईमा जलविद्युत्मा प्रदेश सरकारले लगानी गर्ने नीति तथा कार्यक्रम भनिएको छ । ‘विकास निर्माण अगाडि बढाउन ठूला पूर्वाधार विकासका लागि परियोजना बैंक बनाइनेछ,’ प्रदेश प्रमुख कलौनीले भने ।
आर्थिक वृद्धिका लागि निजीक्षेत्र र सहकारी क्षेत्रसँग सहकार्य गरेर रोजगारी वृद्धि गर्ने लक्ष्य राखिएको प्रदेश प्रमुख कलौनीले बताए । सुर्खेतदेखि हुम्लाका हिल्सासम्मको सडक निर्माणका लागि संघीय सरकारसँग सहकार्य गरिने उल्लेख छ ।
कर्णाली प्रदेशका प्रमुख शहरमा विद्युतीय सवारीसाधन सञ्चालन गरिनेछ भने ‘एक जिल्ला एक पर्यटकीय क्षेत्र’ विकास गरिने बताइएको छ । सुर्खेतको वीरेन्द्रनगरलाई हरित नगरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यस्तै ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिई आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व बढाइने भएको छ । कृषक प्रोत्साहन, कृषि बीमा, सहुलियत कर्जा र न्यूनतम समर्थन मूल्य जस्ता किसानमैत्री कार्यक्रम संघ र स्थानीय तहसँग साझेदारी तथा सहकार्य गरी सञ्चालनका साथै ‘जमीन बाँझो नराखौं, सक्नेलाई खेती गर्न दिऔं’ नाराका साथ जमीनमो खेती वृद्धि गर्ने लक्ष्यसमेत प्रदेश सरकारको छ ।
मल, बीउ, बेर्ना, कृषि उपकरण लगायत आधारभूत कृषि सामग्रीको समयमै उपलब्धता सुनिश्चित गरिने भएको छ । ‘एक स्थानीय तह एक विशेष उत्पादन’ र ‘एक सामुदायिक बीउ बैंक’, ‘एक वडा एक पोखरी वा जलाशय’ र ‘एक जिल्ला एक स्रोत केन्द्र’ विकास गरिने प्रदेश प्रमुख कलौनीले बताएका छन् । ‘पशुपक्षीजन्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउनुका साथै यस्ता उत्पादनको निर्यातलाई प्रवर्द्धन गरिनेछ, व्यावसायिक एवं उन्नत नश्लका पशुपक्षी, माछापालन, मौरीपालन र उच्च मूल्यका पक्षीपालनलाई प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको साझेदारीमा दुग्ध उत्पादन, दाना, ह्याचरी, प्रशोधन केन्द्र, अग्र्यानिक मल, जैविक विषादी, वधशाला, स्रोतकेन्द्र विकास, सोलार चिस्यान केन्द्र र कृषि औजार तथा उपकरणको उद्योग स्थापना गर्न प्रोत्साहित गरिनेछ ।’ यस्तै खेलाडी उत्पादन, खेलकुदको विकासका लागि सामुदायिक विद्यालयमा खेलकुद फिल्ड निर्माण र पूर्वाधार विकास प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।