ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आफ्नै नागरिक फिर्ता लान पश्चिमबंगाल राजी भएन : १५ हजार भारतीय अलपत्र 

२०७७ जेठ, १९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

जेठ १९, विराटनगर । विराटनगर–भारतको पश्चिमबंगाल सरकारले प्रदेश १ का विभिन्न इटाभट्टामा अलपत्र परेका आफ्ना मजदूरलाई फर्काउन मानेन । 

प्रदेश १ का ८५ ओटा इटाभट्टामा काम गर्न आएका पश्चिमबंगालको कुचविहारका १५ हजार मजदूर लकडाउनको कारण भट्टामै आढइ महीनादेखी अलपत्र छन् । 

परिवार सहित ईटाभट्टामा प्रत्येक बर्ष आउने र हिउदभरि काम गरि वर्षाद् शुरु हुन अगावै भारत फर्कने मजदूरहरु अहिले अलपत्र परेका हुन् । 

उनीहरु आफ्नो घर फर्कन चाहन्छन् । तर कोरोनाको कारण जनाउँदै पश्चिमबंगाल सरकारले काकडभिट्टाबाट पारी जाने पानीटंकी नाका एकतर्फी सिल गरेकाले उनीहरु आफ्नो घर फर्कन सकेका छैनन् । 

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले डेढ महीनादेखी पहल गर्दा पनि उनीहरुलाई पश्चिमबंगाल प्रवेश गर्ने स्वीकृति त्यहाको सरकारले दिएको छैन, जसको कारण इटाभट्टामा उनीहरु कष्टकर जीवन बिताइ रहेको बताए । 

कोशी अञ्चल ईट्टा उद्योग व्यवसायी संघले उद्योग संगठनलाई पत्र लेख्दै अलपत्र परेका भारतीय मजदूरलाई घर फर्काउन पहल गरिदिन अनुरोध गरेपछि उद्योग संगठन मोरङले भारतीय दूतावासलाई पत्र पठाएर सहजरुपमा फर्काउने वातावरणका लागि अनुरोध गरेको थियो । 

भारतीय दूतावासले पश्चिमबंगाल सरकारलाई नागरिक फर्काउने बारे पत्र पठाएपनि फर्काएर उनीहरुलाई राख्ने व्यवस्था भइनसकेको जनाउँदै उनीहरुलाई तत्काल फर्काउन नसकिने बताएको दूतावासको स्रोतलाई उल्लेख गर्दै घिमिरेले बताए । 

घिमिरेले भने ‘भारतीय दूतावासले नागरिक फर्काउन पहल गरेपनि पश्चिमबंगाल सरकार तयार नभएको कारण सुनसरी र मोरङमा रहेका १५ हजार भारतीय श्रमिक अलपत्र परेका छन् ।’   

कोशीअंचल ईट्टा उद्योग तथा व्यवसायी संघका अध्यक्ष खगेन्द्र श्रेष्ठले सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर पहिलो लट २३९ जनालाई गाडीमा राखेर काकडभिट्टा नाकामा छाड्न लाँदा उर्लाबारीमा मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जान नदिएको बताए । 

भारतले नेपाली नागरिकलाई नाका नाकामा ल्याएर अलपत्र छाडेर गएपनि भारतीय नागरिकलाई तोकेको नाकामा लैजाँदा नेपाल प्रहरीले लान नदिएको उनले बताए । 

मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले भारतीय मजदूरलाई झापा प्रहरीले प्रवेश नगराउनु भनेको कारण फर्काएको बताए । उनले पश्चिमबंगाल सरकारले तत्काल नपठाउन झापा प्रशासन र प्रहरीलाई भनेको आधारमा आफूले भारतीय मजदूरलाई जान रोकेको बताए । 

उनले भने ‘पश्चिमबंगाल सरकारले केही दिन पछि नै नाका खोल्ने जानकारी दिएकाले उनीहरुलाई नाका नखुल्दा सम्मको लागि फर्काइएको हो । नाका खुलेपछि जान दिन्छौं ।’

संघिय मामिला तथा कानून मन्त्रालयको स्रोतले पश्चिमबंगाल सरकारले पारीपट्टी नेपालबाट जाने भारतीय नागरिकका लागि क्वारेन्टाईन निर्माण गरिरहेकाले अहिले केही दिन भारतीय मजदूरलाई नपठाउन आग्रह गरेकाले केही दिन मजदूरलाई जानका लागि रोकेको हो । 

सीमा नाकामा पहिले पनि भारत जानेहरु अलपत्र परेकाले राम्रो समन्वय नगरि नपठाउने निर्णय भएकाले उनीहरुलाई उर्लाबारीबाट फर्काइएको हो । पश्चिम बंगाल सरकारले उता नाकामा आएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न दिइरहेको छ भने अब केही दिन भित्रमै भारत जानेहरुका लागि पनि नाका खोल्ने तयारी गरिरहेको जनाकारी आएको मन्त्रालयका एक अधिकारीले बताए ।

उनले भने ‘दुवै देशको सीमा नाकामा कुनैपनि नागरिक अलपत्र नपरुन भनेर हामीले समन्वयात्मक ढंगले दुवै देशका अधिकारीहरु बिचमा औपचारिक र अनौंपचारिक कुराकानी गरिरहेका छौं ।’ 

जहासुकै अलपत्र परेपनि दुई देशका नागरिक नै पर्ने भएकाले पहिलेको जस्तो अवस्था नआओस् भनेर सीमामा दुवैतर्फ होल्डीङ स्टेशनहरु निर्माण गरिएका छन् । तर पश्चिमबंगाल सरकारले भने काकडभिट्टाबाट छिर्ने नाकामा होल्डिङ स्टेशन निर्माण सम्पन्न नगरेकाले केही दिन नपठाइदिन आग्रह गरेको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)