ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली भित्रिने तीन जिल्लाका नागरिकलाई सुर्खेतमै राखिने

२०७७ जेठ, १९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

जेठ १९, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा अब बाहिरबाट भित्रिने प्रदेशका दुर्गम तीन जिल्लाका नागरिकलाई सुर्खेतमै स्थापना गरिएका क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना संक्रमित क्षेत्र, भारत र तेस्रो मुलुकबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतकै क्वारेन्टाइनमा राखिने भएको हो ।

सुर्खेतको क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण (कोरोना नभएको पुष्टि भए)पछि मात्र गाउँ पठाउने निर्णय प्रदेश विपद् व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले गरेको छ । ती जिल्लाका नागरिकलाई यसअघि शुरूमै गाडीमार्फत घर पठाउने गरिएको र स्वास्थ्य परीक्षणका लागि हेलिकोप्टर चार्टर्ड गरेर डाक्टर खटाउँदा सरकारको दोहोरो खर्च भएको भन्दै आलोचना हुन थालेपछि केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

‘डोल्पा, मुगु र हुम्लामा कोरोना संक्रमणको जोखिम कम छ, ती जिल्लामा अहिले बाहिरबाट आउने नागरिक पनि थोरै छन्,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘दुर्गममा संक्रमण रोक्न र सरकारको दोहोर खर्च जोगाउन यस्तो निर्णय गरिएको हो, हिमाली जिल्लाका नागरिकलाई सुर्खेतमै राख्दा सरकारको खर्च बच्छ, दुर्गममा संक्रमणको खतरा पनि कम हुन्छ ।’ यसअघि ती जिल्लामा गएका सम्पूर्ण नागरिकको कोरोना परीक्षण गरिसकिएको छ । ‘पुल टेष्ट’ अर्थात् संयुक्त विधिबाट गरिएको परीक्षणमा ती जिल्ला कोरोना संक्रमणमुक्त देखिएका छन् । 

यसैबीच, कर्णालीमा यही जेठ २५ गतेदेखि यार्सा संकलन खुला गरिने भएको छ । प्रदेशका उच्च हिमाली जिल्लाका नागरिकको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको यार्सा संकलन रोकिएमा ठूलो भोकमरी र आर्थिक संकट पर्न सक्ने भन्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यार्सा संकलन खुला गर्ने निर्णय गरेको हो ।

यद्यपि उक्त निर्णय कार्यान्वयनका लागि संघीय सरकारबाट अनुमति पाउनुपर्छ । ‘जेठ २५ गतेदेखि यार्सा संकलन खुला गर्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘केन्द्रीय विपद् व्यवस्थापन समितिले अनुमति दिएमा यार्सा संकलन शुरू हुन्छ ।’ तर यस वर्ष भारतबाट भित्रिने तीन जिल्लाका नागरिकले यार्सा संकलनका लागि प्रवेश पाउने छैनन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)