जेठ २०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना कोरोना संक्रमित निको भएर गएराति घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई वीपी प्रतिष्ठानबाट डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जानकारी दिएको छ । निको भएर घर फर्किएकाहरुमा १ जना धरानकी महिला रहेकी छिन् भने अन्य सबै झापा जिल्लाका रहेका छन् ।
धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको छ भने झापाका नागरिकहरुलाई बसमा पठाइएको छ । प्रतिष्ठानको आइसोलेशनमा अब ८० जना संक्रमित व्यक्तिहरु रहेका छन् । ती सबै झापाका रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
निको भएर घर फर्किएकाहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा. इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए ।