ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपी प्रतिष्ठानमा ओपीडी सेवा अव्यवस्थित

२०७७ जेठ, २१  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अव्यवस्थित रहेको पाइएको छ । ठूलो भीडभाड हुँदा कोरोनाको संक्रमण फैलिने जोखिम भए पनि प्रतिष्ठानले व्यवस्थापन गर्न नसकेको बिरामीहरूले गुनासो गरेका छन् ।

प्रतिष्ठानले सेवा दिने कोटाभन्दा बढी सेवाग्राही आउँदा समस्या भएको इटहरीबाट उपचारका लागि आएका हरि खतिवडाले बताए । टोकन वितरण, बिल काट्ने जस्ता कार्य व्यवस्थित नभएको सेवाग्राहीको गुनासो छ ।

बिरामीका आफन्तहरू बिहान ५ बजेदेखि लाइनमा बसेका हुन्छन् । कुपन भने ८ बजेदेखि वितरण हुने गरेको छ । यसले पनि आफूहरू समस्यामा परेको खतिवडाले बताए । ‘सेवा व्यवस्थित नहुँदा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना बढेको छ,’ उनले भने ।

प्रतिष्ठानले विभिन्न १४ ओटा विभागका लागि दैनिक ४७५ जनाका लागि कोटा छुट्याएको छ । कुनै विभागमा १५ देखि ६० जनासम्मको कोटा छुट्याइएको छ ।

एकैपटक धेरै संख्यामा सेवाग्राही आउने भएकाले पनि व्यवस्थापन गर्न समस्या रहेको प्रतिष्ठानका एक सुरक्षाकर्मीले बताए । सेवाग्राही पनि आफै सचेत नहुँदा बढी भीड हुने गरेको उनको भनाइ छ । 

ओपीडी सेवा व्यवस्थित गराउन मापदण्ड अनुसार नै काम भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. नीतेश सापकोटा बताउँछन् । प्रतिष्ठान बढी भीड हुन नदिन मुख्य गेटमै टोकन वितरण गरिएको, भित्र पनि स्यानिटाइज गराइएको र ज्वरो नाप्न सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ । ‘सामाजिक दूरी कायम गराउन गोलो घेरामा राख्ने गरेका छौं, पालैपालो भित्र प्रवेश गराउँछौं, एक पटकमा ५ जनासम्म मात्र भित्र पस्न पाउँछन्,’ उनले भने । प्रतिष्ठान ठूलो भएकाले पनि व्यवस्थापन केही समस्या भएको भनाइ छ । विभागभित्रको चेकजाँच गर्ने स्थानमा भने सामाजिक दूरी अनिवार्य गराएर चिकित्सकहरूले सेवा दिइरहेका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)