ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानको कृषिक्षेत्रमा यान्त्रिकीकरण बढ्दै

२०७७ जेठ, २२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । पछिल्लो समय सल्यानको कृषिक्षेत्रमा यान्त्रिकीकरण बढ्दै गएको छ । जिल्लाका स्थानीय तहहरूले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउन जोड दिएका छन् । परम्परागत कुटो, कोदालो र हलोको प्रयोग गर्ने किसानहरू मेशिनरी सामग्रीको प्रयोगमा आकर्षित भएका छन् ।

किसानको मागको आधारमा जिल्लाको कपुरकोट गाउँपालिकाले हालै थ्रेसर, मिनी टिल्लर अनुदानमा वितरण गरेको छ । साथै व्यावसायिक पशुपालनमा लागेका किसानलाई च्यापकटर लगायत उपकरण प्रदान गरेको गाउँपालिकाका आर्थिक विकास समिति संयोजक एवं प्रवक्ता यमकुमार बस्नेतले जानकारी दिए । गाउँपालिकाले किसानलाई २४ ओटा मिनी टिलर, १० ओटा थ्रेसर र चारओटा च्यापकटर वितरण गरेको उनले बताए ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पशु सेवा शाखातर्फको ५० प्रतिशत अनुदान र किसानको २५ प्रतिशत रकम जुटाएर किनिएको च्यापकटर गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले किसानलाई हस्तान्तरण गरेका थिए । ४७ हजार रुपैयाँ पर्ने च्यापकटरमा गाउँपालिकाले ३५ हजार २५० र किसानले ११ हजार ७५० रुपैयाँ बेहोरेको पशु विकास शाखा प्रमुख अरुणा भण्डारीले जानकारी दिइन् ।

यस्तै ५० प्रतिशत अनुदानमा २४ ओटा मिनी टिल्लर र १० ओटा थ्रेसर पनि गाउँपालिकाले आधिकारिक रूपमा दर्ता भएका किसान समूह र फर्मलाई वितरण गरेको छ । मिनी टिल्लर अनुदानमा पाएपछि मनकामना कृषि फार्म कपुरकोट–४ गाँडापानिका कृषक किरण कठायतले कृषि क्षेत्रमा भित्रिएको यान्त्रिकीकरणले उत्पादन लागत घट्ने र उत्पादन बढ्ने विश्वास व्यक्त गरे ।

उनले अहिले आफूले २ रोपनी जमीनमा व्यावसायिक तरकारीखेती गरिरहेको उनले बताए । यस्तै गहुँ दाउने थ्रेसर प्राप्त गरेका हिमचुली कृषक समूह कपुरकोट–१ गर्पाका अध्यक्ष नरबहादुर सुनारले गाउँपालिकाले कृषकका लागि उपयोगी कार्यक्रम ल्याएको प्रतिक्रिया दिए ।

कृषिक्षेत्रलाई समयसापेक्ष आधुनिकीकरण गर्न आवश्यक रहेको भन्दै गाउँपालिका अध्यक्ष सेनले कृषिमा यान्त्रिकीकरण र विषादीको न्यूनीकरणमा जोड दिइएको बताए । बाली रोप्ने, काट्ने तथा प्रशोधनमा समेत प्रविधिको प्रयोग गर्दा बढी भन्दा बढी फाइदा लिन सकिने उनको भनाइ छ । सूचना प्रकाशित गरेर निर्धारित समयभित्र परेका निवेदनबाट स्थलगत अनुगमन लाभग्राही किसानको छनोट गरिएको गाउँपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)