धनकुटा । क्वारेन्टाइन निर्माणको विषयमा धनकुटाको पाख्रिबास नगरपालिका र स्थानीय बासिन्दाबीच विवाद भएको छ । पाख्रिबास नगरपालिका–३ मा रहेको कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्न क्वारेन्टाइन बनाउने निर्णय नगरपालिकाले गरेपछि स्थानीयले विरोध गरेका हुन् । नगरपालिकाले स्थानीयसँग समन्वय नगरी कृषि क्याम्पसमा जबरजस्ती क्वारेन्टाइन राख्न लागेको स्थानीयको आरोप छ ।
कृषि क्याम्पसको निर्माणाधीन भवनमा क्वारेन्टाइन राख्ने विषयमा ५ दिनयता नगरपालिका र वडावासीबीच पटक पटक वार्ता भए पनि सहमति जुटेको छैन । नगरपालिकाको विपत् व्यवस्थापन समितिले कृषि क्याम्पस उपयुक्त रहेकाले क्वारेन्टाइन बनाउने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद स्माइलले बताए । सरकारले देशबाहिर रहेका नागरिक ल्याउने निर्णय गरेपछि क्वारेन्टाइन बनाउनु परेको उनको भनाइ छ ।
पाख्रीबास नगरपालिकाका १ हजार ४४२ जना देशबाहिर गएकोमा तीमध्ये करीब ४ सय मानिस भारतमा रहेको उनले बताए । ‘भारतमा रहेका नागरिक तत्काल आउने भएकाले क्वारेन्टाइन बनाउनु परेको हो,’ उनले भने । नगरपालिकाले अन्य ठाउँमा क्वारेन्टाइन बनाउँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई असहज हुने भएकाले कृषि क्याम्पस नै उपयुक्त रहेको स्माइलको जिकीर छ । बाहिरबाट आएका मानिस सीधै गाउँ पठाउन नमिल्ने भएकाले क्वारेन्टाइन तत्काल बनाउनुपर्ने आवश्यकता छ ।
यता वडावासी भने कृषि क्याम्पसमा क्वारेन्टाइन राख्दा कोरोना संक्रमणको जोखिम बढ्ने र क्याम्पसको पठनपाठनमा अवरोध पुग्ने भन्दै ‘पाख्रीवास कृषि क्याम्पस संरक्षण संघर्ष समिति’ नै गठन गरी आन्दोलित भएका छन् । क्याम्पस निर्माणको चरणमा रहेकाले क्वारेन्टाइन बनाउँदा काम समेत प्रभावित हुने उनीहरूको भनाइ छ । निर्माणाधीन क्याम्पसलाई क्वारेन्टाइन बनाएर क्याम्पस अन्यत्र स्थानान्तरण गर्न लागिएको संघर्ष समितिका संयोजक प्रणय कुमार गुरुङको आरोप छ ।
अरू सबै नगरपालिकाले वडा वडामा क्वारेन्टाइन निर्माण गरेको भए पनि पाख्रिबास नगरपालिकाले भने कृषि क्याम्पसलाई एकीकृत क्वारेन्टाइन बनाउन लागेको गुनासो स्थानीयले गरेका छन् ।
लकडाउन नभएको भए गएको वैशाखदेखि नवनिर्मित भवनमा कक्षा सञ्चालनको तयारी गरिएको थियो । तर, लकडाउनले निर्माण सम्पन्न हुन ढिलाइ भएको समितिले बताएको छ । लकडाउन खुल्नेबित्तिकै कक्षा सञ्चालन हुँदा क्याम्पसको नवनिर्मित भवन प्रयोग होस् भन्ने स्थानीयको चाहना भएकाले सो ठाउँमा क्वारेन्टाइन बनाउन नदिइने क्याम्पसकी जग्गादाता रूपा राईले बताइन् । उक्त क्याम्पसमा खानेपानी, विद्युत्, शौचालय, तारबेरा लगायत पूर्वाधार निर्माणको चरणमा छ ।
क्वारेन्टाइन निर्माणका लागि नजिकै रहेको जाल्पादेवी मावि, जाल्पादेवी क्याम्पस, सीटीईभीटीको कलेज, नगरपालिकाको नवनिर्मित तयारी भवन र ९२ हेक्टर क्षेत्रफलमा रहेको कृषि अनुसन्धान केन्द्रको सुविधा सम्पन्न भवन छोडेर कृषि क्याम्पसमा जबरजस्ती क्वारेन्टाइन बनाउन लागेकाले विरोध गर्नुपरेको संघर्ष समितिका सचिव राजेन्द्र बस्नेतले बताए । आफूहरू क्वारेन्टाइन निर्माणको विरोधी नभएको, तर अन्य विकल्प हुँदाहुँदै कृषि क्याम्पस नै रोज्नु गलत भएको उनको भनाइ छ ।
क्वारेन्टाइन निर्माण गर्ने विषयमा भएको विवाद समाधानको लागि नगरपालिका कार्यालयमा दुवै पक्षबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिकबहादुर राईले जिल्ला विपत् व्यवस्थापन समितिको निर्देशनमा २४ घण्टाभित्र १०० बेडको क्वारेन्टाइन बनाउनुपर्ने भएपछि कार्य अघि बढाइएको बताए । नगरपालिकामा रहेको विपत् व्यवास्थापन समितिको निर्णयले कृषि क्याम्पस उपयुक्त भएकोले क्वारेन्टाइन राख्ने निर्णय गरिएको उनको भनाइ छ । वडावासीले क्वारेन्टाइन र आइसोलेसनको बारेमा नबुझेर र तथा नगरपालिकाले बुझाउन नसकेर कमजोरी भएको उनले बताए ।
पाख्रिबास कृषि क्याम्पस व्यावस्थापन समितिका स्थानीय प्रतिनिधि कृष्ण कटवालले निर्माणाधीन क्याम्पसलाई क्वारेन्टाइन बनाएर क्याम्पस अन्यत्र स्थानान्तरण गर्न लागिएको बताए । यस विषयमा नगर प्रमुख राईसँग बुझ्दा विवाद मिलिसकेको र अब कृषि क्याम्पसमै क्वारेन्टाइन बनाइने जानकारी दिए ।