जेठ २२, धनकुटा । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप २७ जना कोरोनामुक्त भएका छन् ।
कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाको पीसीआर परीक्षणमा कोरोनामुक्त देखिएपछि डिस्चार्जको गरिएको छ। कोरोनामुक्त हुनेमा धनकुटाका ४, उदयपुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ र खोटाङका १ जना रहेको स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।
कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ४ जना महिला र २३ जना पुरुष डिस्चार्ज भएका हुन् ।
३० जनाको परीक्षण गर्दा २७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । योसँगै प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ७५ पुगेको छ। यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना कोरोना जितेर डिस्चार्ज भएका थिए । प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या १ सर ८५ रहेको छ ।
धनकुटामा कोरोना संक्रमण पुष्टि भएका ७ जना डिस्चार्ज भएका छन् । ठेगानाका आधारमा धनकुटाका चार जना डिस्चार्ज भए तापनि धनकुटामा संक्रमण पुष्टि भएका ४ स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार १ गरि ७ जना डिस्चार्ज भएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए ।
धनकुटामा संक्रमण पुष्टि भएर डिस्चार्ज हुने दुई जना सुनसरीका र एक जना सप्तरीका रहेका छन् । ७ जना कोरोनामुक्त भएसँगै धनकुटामा बुधबार संक्रमण पुष्टि भएका सहिदभूमि गाउँपालिकाका १ पुरुष मात्रै संक्रमित रहेका छन् ।