ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारीमै कुहिन थाल्यो तरकारी

२०७७ जेठ, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा उत्पादित तरकारी बारीमै कुहिन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउनका कारण उत्पादित तरकारी निर्यात गर्न नसकेपछि कुहिन थालेको हो ।

करीब २ महीनादेखिको लकडाउनका कारण तरकारी टिप्न र बेच्न नपाएको गुनासो गर्छन् बनगाड कुपिण्डे नगरपालिका–६ आँपखोलीका किसान टोपबहादुर बुढाक्षेत्री । उनी मात्र होइन, विष्णु आँपखोली ताजा तरकारी उत्पादन समूहमा आबद्ध सबै किसानले उत्पादन गरेका काँक्रा, सिमी, बन्दा, टमाटरलगायत तरकारी बारीमै कुहिएका छन् । समूहका उपाध्यक्ष समेत रहेका बुढाक्षेत्रीले अब कुहिएको तरकारीहरू पशुलाई खुवाउनुको विकल्प नरहेको बताए ।

उनका अनुसार अहिले बारीमै बन्दा सुक्ने अवस्थामा छ । औषधि अभावमा टमाटरकोे विरुवा कीराले सखाप पार्न थालेको छ । काँक्रा पाकेर पहेंलो भइसकेका छन् । ‘गत वर्षको यही सिजनमा मैले तरकारी र काँक्रा बेचेर रू. २ लाख आम्दानी गरेको थिएँ’, बुढाक्षेत्रीले दुखेसो पोख्दै भने । बिगतका वर्षहरूमा तरकारी खरीद गर्न व्यापारीहरू किसानको खेतबारीमा नै आउँथे । तर, अहिले सुनसान छ । ‘बन्दाबन्दी भएदेखि नै तरकारीको राम्रो व्यापार भएको छैन्’, बुढाक्षेत्रीले बेच्न राखिएका तरकारी देखाउँदै भने, ‘तरकारी लिन कोही आउँदैनन् ।’ विगतमा सबै तरकारी बारीबाटै बेचेर सकिने गरेको उनको भनाइ छ ।

‘तरकारी सबै सुक्न लागिसक्यो’ अर्का किसान लोकबहादुर बीसीले भने, ‘फाट्टफुट्ट रूपमा थोरै मात्रामा तरकारी विक्री हुन्छ, त्यही पनि सस्तोमा बेच्नुपरेको छ ।’ बन्दाबन्दी भएदेखि कुनैपनि व्यापारीहरू तरकारी लिन नआएको उनको भनाइ छ । ‘यहाँ उत्पादन भएका तरकारी जिल्लाबाहिर समेत जाने गरेको थियो, बन्दाबन्दीको कारण धेरै मानिसहरूको आवतजावत नहँुदा सबै विक्री नहुने भयोे’ उनले भने ।

नगरपालिकाको वडा नम्बर ४, ६ र ११ का किसानले लगाएको तरकारी विक्री नभएपछि समस्या भएको उनले बताए । अहिले अधिकांश किसानको तरकारी बारीमै कुहिएको छ भने उनीहरूलाई आर्थिक समस्या पर्न थालेको छ । यहाँका किसानहरूको आम्दानीको मुख्य स्रोत तरकारी खेती नै हो ।

स्थानीय किसान कलिभान रोकायले २ रोपनी जग्गामा लगाएको सिमी, काँक्रा, टमाटर र बन्दा विक्रीका लागी तयार भएपनि किन्ने मान्छे कोही नभएपछि बारीमै थन्किएको बताए । बिगतमा उनले तरकारी बेचेरै बार्षिक रू. ३ लाखसम्म आम्दानी गर्दै आएका थिए । ‘गर्मीका कारण तरकारी टिपेको अर्को ओइलिन्छ र खानै नमिल्ने हुन्छ’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)