ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि र रोजगारी केन्द्रित बजेट आउने

२०७७ जेठ, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ सरकार प्रमुख सोमनाथ अधिकारीले शुक्रवार आगामी आव २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अधिकारीले किसानका लागि ४५ करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेका छन् । नीति तथा कार्यक्रममा बजेट नै तोकेर आएको यो पहिलो कार्यक्रम हो । यसअघिका नीति तथा कार्यक्रममा रकम तोकेर कार्यक्रम आएको थिएन । कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर आउने युवालाई उद्यमशीलता, उद्योग तथा भौतिक विकासमा उच्च प्राथमिकता दिँदै शिक्षा, सुरक्षा एवं सुशासनको प्रत्याभूति कायम गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश १ का करीब २ लाखसम्म युवा फर्कन सक्ने आकलन गर्दै यसरी फर्कनेका लागि रुचिअनुसार कार्यक्रम तर्जुमा गर्न प्रदेश योजना आयोगबाट अनलाइन फारम आह्वान गरिने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्कने र यहीँ रोजगारी गुमाएकाहरूलाई कृषिमा स्थानीय तह, सहकारी, निजीक्षेत्र र स्वीस विकास कोरोना पुनरुत्थान कोषमार्फत समेटिने नीति तथा कार्यक्रममा भनिएको छ । मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम र मेरो कृषि मेरो पौरख कार्यक्रम कार्यान्वयन गर्दै रोजगारीका थप अवसर सृजना गरिने प्रदेश प्रमुख अधिकारीले बताए । यस्तै प्राकृतिक स्रोतको सम्भाव्यता हेरी एक जिल्ला एक उद्योग खोल्न अध्ययन तथा कार्यान्वयनमा दोहोरोपना आउन नदिन सार्वजनिक निजी साझेदारी प्रक्रिया अघि बढाइने जानकारी उनले दिए । किसानलाई किसान कार्ड र रासन कार्ड उपलब्ध गराउने र किसानको उत्पादन खेर जान नदिन सरकारले विक्रीको जिम्मा लिनेछ । सरकारको नीति तथा कार्यक्रममा आयोजना बैंकमा सूचीकृत २६ परियोजनामा थप २४ थपेर ५० पु¥याइने र ती योजनाका लागि स्वदेशी लगानी प्रवद्र्धन गर्ने, स्वदेशी तथा वैदेशिक लगानी सम्मेलन गर्ने तयारी सरकारको छ । कोभिड–१९ का कारण सरकारको राजस्व संकलन र खर्च क्षमतामा समेत असर परी कुल गार्हस्थ्य उत्पादनको योगदानमा समेत संकुचन आउने सरकारले प्रक्षेपण गरेको छ । चालू आवको ९० प्रतिशत खर्च गर्ने लक्ष्य राखेको भए पनि चालू वर्षको समीक्षामा ४० प्रतिशतमात्र खर्च हुने अनुमान छ ।

चालू आवमा आर्थिक वृद्धि ६ दशमलव ५ प्रतिशत प्रक्षेपण गरिएकोमा २ दशमलव ८ प्रतिशतमा संकुचन हुने देखिएको छ । गत आवमा कुल गार्हस्थ्य उत्पादनमा प्रदेश १ को हिस्सा १७ दशमलव ४ रहेकोमा चालू आवमा ३ दशमलव ८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा कोशी अञ्चल अस्पताललाई प्रदेश अस्पतालको रूपमा विकास गरी ६ ओटा थप भेन्टिलेटरको व्यवस्था गरी कोरोनाको उपचार थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै पूँजीगत खर्च बढाउने, चौमासिक प्रगति सार्वजनिक गर्ने व्यवस्था गरिएको र स्वीस सरकारबाट प्राप्त १ अर्ब रुपैयाँ बराबरको अनुदानलाई सरकारले सदुपयोग गर्ने भएको छ । भौतिक तथा पूर्वाधार निर्माणमा निर्वाचन केन्द्रित ६२ सडक र प्रादेशिक ५ सडक स्वीकृति दिई निर्माण काम शुरू भएको, मुख्यमन्त्री सडक ८७ समेत गरी १८६ सडक पुल र ११४ झोलुंगे पुल सरकारको प्राथमिकता भएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी चालू आवमा उद्योग वाणिज्य क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको नीति तथा कार्यक्रममा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)