जेठ २६ वीरेन्द्रनगर । सोमवार कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यानका गरी थप १६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६५७ पुगेको छ । सोमवार (आज) संक्रमण पुष्टि हुनेहरूमा सल्यानका ५ जना, सुर्खेतका १ जना र दैलेखका १० जना रहेका छन् ।
हालसम्म कर्णाली प्रदेशमा कोरोनालाई जितेर ७ जना घर फर्किसकेका छन् । शुक्रवार दैलेख र सुर्खेतका ७ जना कोरोना भाइरसलाई जितेर प्रदेश अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ । दैलेखको दुल्लू नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
कर्णालीका १० जिल्लामध्ये ९ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । अब कर्णाली प्रदेशमा कोरोना संक्रमण पुग्न बाँकी जिल्ला रूकुमपश्चिम मात्रै रहेको छ ।