ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा ३०० आईसीयू बेड थपिँदै

२०७७ जेठ, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेशमा २ हप्तामा ३०० ओटा आईसीयू बेड थपिने बताएका छन् । सोमवार प्रदेशसभाको सामाजिक विकास समितिको बैठकमा अहिलेसम्म कोरोना रोकथामको तयारी, संक्रमणको अवस्था, आगामी कार्ययोजना, बजेटलगायत विषयको जानकारी दिने क्रममा सो कुरा
बताएका हुन् ।

सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री रावलले अबको २ हप्तामा प्रदेश अस्पतालमा ३०० ओटा आइसीयू र भेन्टिलेटर थप गर्न लागेको बताए । ‘कोरोना महामारी शुरू भएको समयमा कर्णालीमा १७ ओटा आइसीयू र ५ ओटा भेन्टिलेटर थिए । हाल कर्णालीमा ४४ ओटा आइसीयू र १७ ओटा भेन्टिलेटर बेड तयार गर्न सफल भएका छौं ।’ मन्त्री रावलले भने, ‘प्रदेशभर नै आइसोलेसन बेड निर्माणको काममा तीव्रता दिएका छौं ।’

केही दिनभित्रै १ हजार १०० ओटा आइसोलेसन बेड तयार हुने मन्त्री रावलको भनाइ छ । आजसम्म ९०० बेड तयार भइसकेको छ । जिल्ला अस्पतालमा कम्तीमा ५ बेड आइसीयू र २ बेड भेन्टिलेटर थप गर्न बजेटसहित निर्देशन दिइसकेको उनको भनाइ छ ।

आइसोलेसनमा रहेका विरामीलाई १४ दिनपछि जाँच नगरी घर पठाए पनि हुने संघीय सरकारको निर्देशनलाई कर्णाली प्रदेशले नमान्ने उनको भनाइ छ । ‘हामी आइसोलेसनमा बसेको १३औं दिनमा स्वाब लिन्छौं, १४औं दिनमा पीसीआर नेगेटिभ आएको खण्डमा मात्रै घर पठाउँछौं । नभए १९औं दिनमा पुनः परीक्षण गरी नेगेटिभ आएको खण्डमा मात्रै घर पठाउने गरी मातहतका कार्यालयलाई निर्देशन दिइसकेका छौं’, उनले भने । घर पठाइएकालाई पनि कम्तीमा २१ दिन घरमै सुरक्षित बस्ने शर्त राखिएको उनको भनाइ छ ।
मन्त्री रावलले कोरोना पोजेटिभ देखिएका नागरिकलाई प्रदेशभर निर्माण भइरहेको २७ ओटा आइसोलेसन सेन्टरमा राखिने बताए । ‘लक्षण नदेखिएका तर कोरोना पोजेटिभ देखिएका नागरिकलाई आइसोलेसनमा राख्नेछौं । थोरै लक्षण देखिएको खण्डमा जिल्लामा रहेका आइसोलेसनमा राख्ने र त्यहाँ उपचार सम्भव नभए मात्रै कोरोना विशेष अस्पतालमा ल्याएर उपचार गर्नेछौं’, उनले भने ।

मन्त्री रावलले स्वास्थ्यकर्मी जो फिल्डमा खटेको छ त्यसैले मात्र सेवासुविधा पाउने बताए । अहिले खटिएकाको नामसहितको विवरण माग गरेको भन्दै उनले घरमा बस्नेहरूलाई सेवासुविधा दिननसक्ने स्पष्ट पारेका छन् । मन्त्री रावलले जनप्रतिनिधिले आफनो स्थानका नागरिकको पीसीआर जाँच गर्न दबाब दिइरहेको बताउँदै प्राथमिकताका आधारमा सबै जिल्लाबाट आएका स्वाबको जाँच क्रमिक रूपले गर्दै आएको बताए ।

कोरोना संक्रमितको संख्या ७०८
वीरेन्द्रनगर (अस) । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ । मंगलवारसम्म कर्णालीमा जम्मा ६७१ जना मात्रै कोरोना संक्रमित थिए । बुधवार संक्रमण पुष्टि हुनेहरूमा दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना छन् । हालसम्म कर्णालीमा कोरोनालाई जितेर २९ जना घर फर्किसकेका छन् ।

अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षीय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको ज्यान गएको हो । कर्णालीका १० ओटामध्ये ९ ओटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)