जेठ ३१, वीरेन्द्रनगर । सुर्खेतमा फौजी किराको प्रकोप फैलिएको छ । फौजी किराले किसानहरूको बारीमा भर्खरै उम्रिएका मकैबाली सखाप पार्न थालेको छ । किराले मकैबालीमा क्षति पुर्याउन थालेपछि किसानहरू चिन्तित भएका हुन् ।
चिङ्गाड गाउँपालिका–५ अवलचिङ्गका गगन खड्काले कीराले भर्खरै उम्रिएको मकैको जरादेखि नै काटेको बताए । उनले भने चिङ्गाडको सबै वडामा किसानले लगाएका मकैलाई जरैदेखि किराले काट्ने समस्या देखिएको छ । मकैबाली किराले सखाप पार्न थालेपछि बारी बाँझो हुने चिन्ताले आफूलाई सताएको उनले बताए ।
चिङ्गाडकै जय वहादुर जिसिले मकैमा किरा लागेपछि आफूहरु समस्यामा परेको बताए । उनले भने, ‘गाउँपालिकामा सबै किसानको बारीमा किराको प्रकोप देखिएको छ । यस विषयमा गाउँपालिकाको कृषि शाखामा नोक्सानीबारे जानकारी गराएका छौं ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद देवकोटाले रोग–किरा नियन्त्रणका लागि प्रत्येक वडामा एक–एक लाख रूपैयाँ छुट्याइएको जानकारी दिए । ‘६ ओटै वडाका लागि ६ लाख रूपैयाँ छुट्याएका छौं,’ उनले भने, ‘यो रकमबाट प्रत्येक वडामा विषादी वितरण गर्ने काम भइरहेको छ ।’ उनले किसानको बारीमा भएको क्षतिको विवरण कृषि प्राविधिकमार्फत वडालाई संकलन गर्न लगाइएको बताए ।
सोही अनुसार किसानलाई निःशुल्क विषादी वितरणको काम गरिँदैछ । किसानलाई राहत स्वरूप नै विषादी उपलब्ध गराइने देवकोटाले बताए ।
कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम रानाले फौजी किराको प्रकोप यतिबेला देशभरी नै भएको बताए । बजारमा सहज रूपमा पाउने रासायनिक विषादीको प्रयोग गरी किरा मार्न सकिने जानकारी दिए । मकै बालीमा नोक्सान पुर्याउने अमेरिकन फौजी किरा र फेद कटुवा किरा भएको उनले बताए ।