वीरेन्द्रनगर । मकैबालीमा फौजी कीराको प्रकोप फैलिएको छ । फौजी कीराले बारीमा भर्खरै उम्रिएका मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान चिन्तित बनेका छन् । भर्खरै उम्रिएका मकै कीराले जरादेखि नै काट्न थालेको चिंगाड गाउँपालिका–५ अवलचिंगका गगन खड्काले बताए ।
चिंगाडका सबै वडामा किसानले लगाएका मकैबाली जरैदेखि कीराले काट्ने समस्या देखिएको छ । मकैबाली कीराले सखाप पार्न थालेपछि बारी बाँझो हुने चिन्ताले आफूलाई सताएको उनले बताए ।
चिंगाडकै जयबहादुर जीसीले मकैमा कीरा लागेपछि आफूहरू समस्यामा परेको बताए । उनले भने, ‘गाउँपालिकामा सबै किसानको बारीमा कीराको प्रकोप देखिएको छ । यस विषयमा गाउँपालिकाको कृषि शाखामा नोक्सानीबारे जानकारी गराएका छौं ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद देवकोटाले रोग–कीरा नियन्त्रणका लागि प्रत्येक वडामा रू. १÷१ लाख छुट्याइएको जानकारी दिए । ‘६ ओटै वडाका लागि रू. ६ लाख छुट्याएका छौं’, उनले भने, ‘यो रकमबाट प्रत्येक वडामा विषादी वितरण गर्ने काम भइरहेको छ ।’
किसानको बारीमा भएको क्षतिको विवरण कृषि प्राविधिकमार्फत वडालाई संकलन गर्न लगाइएको पनि उनले बताए । सोहीअनुसार किसानलाई निःशुल्क विषादी वितरणको काम गरिने तथा राहतस्वरूप नै विषादी उपलब्ध गराइने अधिकृत देवकोटाले बताए ।
कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम रानाले फौजी कीराको प्रकोप यतिबेला देशभरी नै फैलिरहेको बताए । बजारमा सहज रूपमा पाउने रासायनिक विषादीको प्रयोग गरी कीरा मार्न सकिने उनको भनाइ छ । मकै बालीमा नोक्सान पु¥याउने अमेरिकन फौजी कीरा र फेद कटुवा कीरा भएको उनले बताए ।