असार १, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ । सोमवार थप ११० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमित १ हजार ७७ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार सोमवार दैलेखमा ९१ जना र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेशका हुम्ला र डोल्पामा १/१, मुगुमा २, जाजरकोटमा ८, जुम्लामा २४, कालीकोटमा २८, सल्यानमा १३७, सुर्खेतमा २३१, दैलेखमा ६२९ जनामा संक्रमण रहेको जानकारी दिइएको छ । त्यस्तै अन्य प्रदेशबाट कर्णालीमा भएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जानकारी दिएको छ ।
यसैगरी प्रदेशका १५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर अस्पतालबाट घर पठाइएको छ । अहिलेसम्म कर्णाली प्रदेशमा संक्रमित ३ जनाको ज्यान गइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । अब कर्णाली प्रदेशमा कोरोना संक्रमण पुग्न बाँकी जिल्ला रूकुमपश्चिम रहेको छ ।