ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

न्यून जनशक्तिकै भरमा कर्णालीका स्वास्थ्य संस्था

२०७७ असार, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कोरोना संक्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको हो ।  प्रदेशमा  पूर्वाधारको अभाव देखिएको छ । सामान्य अवस्थामै चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारको अभाव झेल्नुपर्ने कर्णालीमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि झनै सकस भएको छ ।

प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र छन् । प्रदेश मातहतका २५ जनालाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमै करारमा नियुक्त गरेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यहाँ ५९ विशेषज्ञ चिकित्सकमध्ये ५१ जनाको दरबन्दी रिक्त छ ।

प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले चिकित्सकको अभावका कारण कोरोना उपचार प्रक्रियामा चुनौती भएको बताइन् । उनका अनुसार संक्रमितको संख्या दिनप्रति दिन बढिरहेका बेला स्थानीय स्तरमा समेत आइसोलेसन थप गर्नुपर्ने देखिएको छ । तर त्यहाँ खटाउन डाक्टरको अभाव छ । स्थानीय तहहरूमा अहिले पाँचौं र छैटौं तहका स्वास्थ्यकर्मी मात्र छन् । ‘स्थानीय तहमा पाँचौं र छैटौं तहका स्वास्थ्यकर्मी मात्र हुनुहुन्छ,’ उनले भनिन्, ‘अधिकांश स्थानीय तहमा अनमी, अहेब र एचए खटिनुपरेको छ । प्रदेशका अधिकांश स्थानीय तहमा कोरोना संक्रमण फैलिसकेको छ ।’

संक्रमितलाई स्थानीय तहमै आइसोलेसन बनाएर उपचार गर्ने गरिएको छ उनको भनाइ छ । ‘आइसोलेसनमा कम्तीमा एकजना मेडिकल अधिकृत खटिनुपर्ने हुन्छ । जनशक्ति अभावमा अहिले त्यहाँ अनमी, अहेब र एचए उपचारमा खटिनु परेको छ,’ उनले भनिन् । स्थानीय तहका आइसोलेसनहरूमा चिकित्सक खटाउन नसकिएको उनले बताइन् । उनका अनुसार अहिले स्थानीय तहमै रहेका स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिएका छन् ।

प्रदेशभर ११२ जना मेडिकल अधिकृतको दरबन्दी भएकोमा २० जनाको मात्रै पदपूर्ति भएको छ । ९२ दरबन्दी रिक्त छन् । ५८ जना मेडिकल अधिकृत करारमा लिइएको छ । प्यारामेडिक ७८ जनाको दरबन्दीमा ४५ जना कार्यरत छन् । ३३ दरबन्दी रिक्त छ । ५५ जनालाई करारमा लिइएको छ । प्रदेशमा २३४ स्टाफ नर्सको दरबन्दी रहेकोमा ८२ जनाको मात्र पदपूर्ति भएको छ । स्थानीय तहहरूले विभिन्न प्रक्रियामार्फत १ हजार २३१ जना स्टाफ नर्स नियुक्त गरेर स्वास्थ्य संस्थाहरूमा खटाएका छन् । प्रदेशमा २५ अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र र ३३३ स्वास्थ्य चौकी छन् । जिल्ला अस्पतालहरूमा तीनजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर अधिकांश करारमा एक–एक जना मात्र राखेर व्यवस्थापन गरिएको छ । त्यस्तै, मेडिकल अधिकृतको संख्या पनि न्यून छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)