असार २, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा मंगलवारसम्म एक हजार ८६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट निको भएर ३४२ जना घर फर्किएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुल्लु अस्पताल दैलेख, सल्यान अस्पताल लगायतबाट हालसम्म ३४२ जना सक्रमितहरू निको भई घर फर्किएका हुन् ।
मंगलवार मात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट ३ गरी कुल १९१ जना घर फर्किएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
डा. तिवारीका अनुसार यसअघि विभिन्न समयमा गरी १५१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा संक्रमितको संख्या ६३४ जना, सुर्खेतमा २३५, सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा ८, मुगुमा २, हुम्ला र डोल्पामा एक/एक जना संक्रमित फेला परेका छन् । अहिलेसम्म रुकुमपश्चिममा भने कोरोना संक्रमित भेटिएका छैनन् ।
दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।