असार ८, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा सोमवार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ५ जना भेरीगंगा नगरपालिकाका ११ जना र बराहताल गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दैलेखको नारायण नगरपालिकाका ३ जना, सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ४ जना र हुम्ला ताजाकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए । प्रदेशमा संक्रमितको संख्या १ हजार २८२ जना पुगेको छ ।
सोमवारसम्म कर्णाली प्रदेशमा संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५५१ पुगेको छ । कर्णाली प्रदेशमा सोमवार थप २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
रुकुम पश्चिमको चौरजहारी अस्पतालको आसोलेशनबाट सल्यानका ९ जना पुरुष, सुर्खेतको सालकोट आसोलेशनबाट एक महिलासहित ६ जना, मेहेलकुना अस्पतालको आसोलेशनबाट दुईजना पुरुष र ३ जना महिला गरी २० जना डिस्चार्ज भएका हुन् । योसँगै कर्णाली प्रदेशमा डिस्चार्ज भइ घर फर्कनेको संख्या ५५१ पुगेको छ ।
साथै, प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ रहेको छ । सुर्खेतको सिम्ता गाउँपालिकाका २५ वर्षिय युवती, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ । हालसम्म प्रदेशका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।