असार ९, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा मंगलवार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २५ जना नयाँ संक्रमित फेला परेका हुन् ।
प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ५ जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेख जिल्लाका १९ जना र कालिकोट जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । यो सगै कोरोना संक्रमितको संख्या १ हजार ३०७ पुगेको छ ।
त्यस्तै, सुर्खेतको लेकबेसी नगरपालिका आइसोलेशनबाट ६ जना र जाजरकोटको बारेकोट गाउँपालिकाको आइसोलेशनमा रहेका ३ जना गरी ९ जनाले कोरोना संक्रमण जितेको डा. तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या ५६० पुगेको छ ।
डा. तिवारीका अनुसार कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ४५ वर्षीया पुरुष सोमवार राति ९:३० बजे मृत्यु भएको हो ।
यो सँगै कर्णालीमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सुर्खेतको सिम्ता गाउँपालिका २५ वर्षिय युवती , दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।