ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुग्ध वितरण आयोजनाबाट भुक्तानी नपाउँदा १९ हजार किसान समस्यामा

२०७७ असार, १२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाबाट दूधको भुक्तानी नपाएपछि १९ हजार किसान मारमा परेका छन् ।

कोभिड–१९ को कारण बजारमा दुग्ध पदार्थको विक्री घटेको कारण देखाउँदै आयोजनाले रू. ५ करोड ५० लाख भुक्तानी दिन सकेको छैन, जस कारण उक्त संख्याका दुग्ध किसान समस्यामा परेका हुन् ।

धनकुटाको छथर जोरपाटीका किसान डिकबहादुर खड्काका ३२ माउ गाई छन् । उनले लकडाउनका बेला दैनिक २२० लिटर दूध स्थानीय चिस्यान केन्द्रलाई दिए । केन्द्रले दुग्ध वितरण आयोजना विराटनगरलाई दूध विक्री गर्‍यो ।

उनले चिस्यान केन्द्रबाट १० लाख रुपैयाँ पाउन बाँकी छ । रकम भुक्तानी नहुँदा उनले गाईलाई पोषिलो दाना खुवाउन पाएका छैनन्, जसको कारण उनको दूधको दैनिक दूध उत्पादन घटेर ४० लिटरमा झरेको छ । उनले स्थानीय माउन्ट मकालु चीज कारखानालाई समेत दूध विक्री गर्दै आएका थिए । त्यहाँबाट पनि भुक्तानी नपाएको गुनासो उनले गरे ।

त्यस्तै अर्का किसान घमण्डबहादुर थापाले समयमा दूधको रकम भुक्तानी नपाउँदा गाईलाई खुवाउने दानाको समस्या भएको उनले बताए । उनका अनुसार लकडाउनले पशुआहारा पहाडमा ढुवानीमा समस्या छ भने पाइहाले पनि किनेर ल्याउन पैसा छैन । पहिले उनले दैनिक १०० लिटरसम्म दूध विक्री गर्दै आएका थिए । अहिले घटेर दैनिक ७० लिटर मात्र विक्री गरिरहेको उनले सुनाए ।

लकडाउनका कारण विराटनगर दुग्ध वितरण आयोजनाले दुग्ध पदार्थ न्यून परिमाणमा मात्र विक्री गर्न सकेको छ, जसकारण वैशाख र जेठको किसानको दूधको भुक्तानी बक्यौता रहेको आयोजनाका प्रमुख गणेश यादवले जानकारी दिए ।

लकडाउनको कारण विवाह, व्रतबन्ध लगायत धेरै मानिस भेला भएर गर्ने भोजभतेर तथा अन्य कार्यक्रममा सरकारले १५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाएपछि दुग्ध पदार्थको विक्री सिजनमा समेत नभएको उनले बताए । उनका अनुसार अहिले विराटनगर दुग्ध वितरण केन्द्रको गोदाममा २० करोड ९८ लाख रुपैयाँ बराबरको धूलो दूध, घ्यू र मख्खन थन्किएको छ ।

‘लकडाउनका कारण बिहे, व्रतबन्ध लगायत उत्सव र भोजहरू भएनन् । भए पनि सीमित मानिस बोलाएर गरियो,’ उनले भने, ‘यसले गर्दा घ्यू, पनीर, मख्खन, दहीजस्ता दुग्धजन्य उत्पादनको विक्री ह्वात्तै घटेको छ ।’ त्यसैले ताजा दूधलाई धूलो दूध बनाउँदै गोदाममा राख्ने काम भइरहेको उनको भनाइ छ ।

आयोजनाले प्रदेश १ का विभिन्न जिल्लाबाट दैनिक ४० हजार लिटर दूध संकलन गरिरहेको छ । जबकि दैनिक बढीमा ७ हजार लिटरको मात्र विक्री वितरण भइरहेको छ । यादवका अनुसार आयोजनाले प्रशोधित दूध ४ हजार लिटर विक्री गरिरहेको छ । यस्तै ३ हजार लिटरबाट घ्यू, पनीर, दही, मख्खन आदि उत्पादन गर्ने गरेको छ भने बाँकी दूध पाउडर बनाउने गरिएको छ ।

दुग्ध विकास संस्थान अन्तर्गतका हेटौंडा र बुटवलस्थित आयोजनामा दूध बढी भयो भने धूलो दूध उत्पादनका लागि विराटनगर नै पठाइने गरिन्छ । हाल हेटौंडा र बुटवलबाट दूध आउन बन्द भएको यादवले बताए । यसअघि दुवैतिरबाट गरेर दैनिक ३० हजार लिटर दूध आइरहेको थियो ।

आयोजनालाई १३० सहकारी संस्थामार्फत १९ हजार किसानले दूध दिइरहेका छन् । आयोजनाले दुग्ध उत्पादनको विक्री–वितरण सहज रूपमा गर्न सके मात्र किसानलाई समयमा नै भुक्तानी गर्न सकिने प्रमुख यादवले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)