ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इटहरी उपमहानगरपालिकामा बायोग्यास उत्पादन हुनेगरी ल्याण्डफिल साइट बनाइँदै

२०७७ असार, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । फोहोर व्यवस्थापन अहिले सबै शहरको चुनौती बन्दै गएको छ । कतिपय शहर बजारले जंगलमा फोहोर फ्याँक्नुपर्ने बाध्यता छ, जसले वातावारणमा ठूलो असर पारिरहेको छ । सुनसरीको इटहरी शहरको पनि अवस्था यही छ ।

अहिले भने इटहरी उपमहानगरपालिकामा बायोग्यास उत्पादन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण अघि बढाइएको छ । करीब १८ करोड रुपैयाँ लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा हाल फोहोरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको हो ।

उपमहानगरको आफ्नै स्वामित्वमा रहेको साढे ३ बिगाहा जमीनमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले जानकारी दिए । उपमहानगर क्षेत्रमा दैनिक ३५ देखि ४० मेट्रिक टन सड्ने र नसड्ने फोहोर उत्पादन हुने भएकाले त्यसको व्यवस्थापन गरिने वेष्ट एण्ड इन्भायरो म्यानेजमेण्ट प्रालिका व्यवस्थापक भरत गिरीले बताए ।

इटहरीको फोहोर व्यवस्थापनको जिम्मा पाएको वेष्ट इन्भायरो म्यानेजमेण्ट प्रालि र विश्व बैंकको लगानीमा इटहरीमा अत्याधुनिक ल्याण्डफिल साइड निर्माण फागुन १ गतेदेखि शुरू भएको हो । कम्पनीले इटहरीमा २० वर्षका लागि फोहोर व्यवस्थापनको जिम्मा पाएको छ । फोहोर फाल्ने ठाउँ नभएर समस्यामा परेका छिमेकी नगरको फोहोर समेत उक्त ल्याण्डफिल साइटमा व्यवस्थापन गरिने गिरीले बताए ।

इटहरीवासीको घरबाट निस्किएको फोहोरबाट बायोग्यास उत्पादन गरी एलपी ग्यासभन्दा कम मूल्यमा वितरण गरिने भएको छ । ‘यसअघि नै गोबर र मानव मलमूत्रबाट बायोग्यास उत्पादन भइसकेको भए पनि पछिल्लो समय भान्साबाट निस्कने फोहोरबाट मात्र बायोग्यासको उत्पादन गर्न लागिएको यो नेपालमै पहिलो हो,’ गिरीले भने ।
चिया पकाइसकेपछि उब्रेको चियापत्ती, तरकारीको बोक्रा, जूठो, फालिएको खाना र अन्य चाँडै कुहिने जैविक फोहोरबाट ग्यास उत्पादन गरिनेछ । इटहरीवासीका लागि मात्र नभई देशकै लागि यो नौलो अभ्यास हुने कम्पनीको दाबी छ । यसका लागि दैनिक ३० टन फोहोर आवश्यक पर्ने भएकाले इटहरीबाट अपुग भए अन्यत्र शहरबाट समेत ल्याउनुपर्ने गिरीले बताए ।

यसरी ग्यास बनाउनुको अर्को फाइदा प्रांगारिक मलको उत्पादन हो । ग्यास उत्पादन भइसकेपछि ट्यांकीको ‘आउटलेट’बाट निस्कने लेदो करेसाबारीमा मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आफ्नै करेसाबारी नभए मल विक्री गर्ने विकल्प पनि छ । वैकल्पिक ऊर्जा उत्पादन गर्नेगरी प्रशोधन केन्द्रलाई अत्याधुनिक प्रविधियुक्त बनाउने योजना रहेको कम्पनीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)