धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा बसपार्क निर्माण गरिने भएको छ । सरकारी ७ रोपनी र व्यक्तिले प्रदान गरेको ४ रोपनीसहित ११ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गर्न लागिएको हो । संघीय सरकारले अनुमति दिएसँगै निर्माणको प्रक्रिया समेत अअगाडि बढिसकेको छ ।
गत शनिवार प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले उक्त बसपार्कको शिलान्यास गरे । सो अवसरमा सांसद राईले विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउन चाहे पनि विश्वव्यापी कोरोना भाइरसका कारण केही समस्या भएको बताए ।
मूलुक संघीयतामा गएपछि धेरै अधिकार स्थानीय तहमा आएको भए पनि कतिपय पुराना ऐन कानूनका कारण काम गर्न असहज भइरहेको उनको भनाइ छ । उनले बसपार्कको डीपीआर मिहिन र स्तरीय ढंगले गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।
बसपार्क निर्माणका लागि नगरपालिकाका पूर्व कार्यकारी प्रधानपञ्च लोकबहादुर थापाले २ रोपनी, स्थानीय हर्कबहादुर बस्नेतले डेढ रोपनी र योगेश खपांगीले आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेको बसपार्क व्यवस्थापन समितिका संयोजक एवं ४ नं वडाका वडाध्यक्ष सोबित निरौलाले जानकारी दिए ।
बसपार्क निर्माणको डीपीआर तयार गर्ने कार्य शुरू भएको पाख्रिबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले बताए । उनका अनुसार तराईका जिल्लाबाट धनकुटा हुँदै संखुवासभा र भोजपुरलाई यातायात सञ्जालसँग जोड्न पाख्रिबास एक मुख्य केन्द्र हो ।
बसपार्क निर्माणका लागि शहरी विकास कार्यालय धनकुटाद्वारा यो वर्ष रू. १ करोड बजेट विनियोजन भएकोमा तत्काल रू. ५० लाखदेखि ६० लाखसम्म खर्च गर्ने लक्ष्य नगरपालिकाको छ । आगामी ३ वर्षभित्र बसपार्क निर्माण सम्पन्न गरिसक्ने योजना रहेको उनले बताए ।
पाख्रिबासमा बसपार्क नहुँदा सडक छेउछाउ र बीच बजारमा सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता विद्यमान छ । बसपार्क निर्माण हुने भएपछि स्थानीयवासी र यातायात मजदुर खुशी भएका छन् ।