ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका पाँच स्थानीय तहको पाँच मुख्य योजना

अस्पताल र विमानस्थल बनाउनेदेखि डाक्टर पढाउनेसम्म

२०७७ असार, २२  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णालीका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । गाउँ तथा नगरसभा सम्पन्न गरेका स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि बजेट पनि सार्वजनिक गरेका छन् । अघिल्ला वर्षभन्दा यसपटक स्थानीय तहको प्राथमिकतामा रोजगारी सृजना, कृषि उत्पादन र कोरोना नियन्त्रण परेका छन् ।

नगर तथा गाउँसभा सम्पन्न गरेका स्थानीय तहले कोरोना महामारीलाई लक्षित गरी बजेट र योजना ल्याएका छन् । केहीले अघिल्ला वर्षका योजनाहरूलाई पनि निरन्तरता दिएका छन् भने केहीले नयाँ पूर्वाधारका योजना पनि अगाडि सारेका छन् । कोरोना संक्रमणको विद्यमान अवस्थालाई नियन्त्रण र रोकथाम गर्ने कार्यक्रमका साथै केही स्थानीय तहहरूले पूर्वाधार विकास र सामाजिक रुपान्तरणका योजनालाई पनि महत्त्वका साथ अगाडि सारेका छन्

वीरेन्द्रनगरले अस्पताल चलाउने
कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले अस्पताल सञ्चालन गर्ने भएको छ । नयाँ आर्थिक वर्षमा हालको कट्कुवा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर नगर अस्पतालका रूपमा सञ्चालन गरिने भएको हो । प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले नगर अस्पताल सञ्चालनका लागि रू. २० लाख विनियोजन गरिएको बताए । १ वर्ष भित्रमा आफैंले अस्पताल सञ्चालन गर्ने योजना बनाएको ढकालको भनाइ छ । ‘नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सञ्चालन गर्ने नीति लिएको ढकालको उनले बताए । नगरपालिकाले कोरोना नियन्त्रका लागि रू. ५ करोड विनियोजन गरेको छ ।

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई २५ हजार
सल्यानको बनगाड कुपिन्डे नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई रू. २५ हजार दिने भएको छ । नगरमा पीडित परिवारलाई राहतस्वरूप उक्त रकम दिइन लागेको नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिए । यस्तै टुहुरा बालबालिकालाई १० वर्षसम्म मासिक रू. ५०० दिने पनि बजेटमा व्यवस्था गरिएको छ ।
विमानस्थल सञ्चालन गर्दै नरहरिनाथ

कालिकोटको नरहरिनाथ गाउँपालिकाले अबको १ वर्षभित्र विमानस्थल सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएअनुसार हालसम्म सञ्चालनमा आउन नसकेको कोटबारास्थित सुनथराली विमानस्थललाई १ वर्ष भित्रै सञ्चालमा ल्याउने लक्ष्य राखेको हो । अहिले विमानस्थलको धावनमार्ग कालोपत्र भइरहेको छ । यसअघि पनि परीक्षण उडान भरेको कोटबाराको सुनथराली विमानस्थल स्तरोन्नति भइरहेको गाउँपालिकाले बताएको छ ।

डाक्टर पढाउने पातारासीको योजना
जुम्लाको पातारासी गाउँपालिकाले २ जनालाई डाक्टर पढाउने भएको छ । कोरोना महामारीपछि गाउँमा स्वास्थ्यकर्मीको अभाव भएको भन्दै गाउँपालिकाले आफैंले डाक्टर पढाउने भएको हो । नयाँ आर्थिक वर्षमा दुई जनालाई डाक्टर पढाउन छात्रवृत्ति उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँग सहकार्य गरेर कम्तिमा दुइजना गाउँपालिका नागरिकलाई डाक्टर अध्ययन गराउने बताएको छ । यसका लागि गाउँसभाबाट बजेट पनि व्यवस्था गरिएको अध्यक्ष बोहोराले बताए ।

सिमकोटलाई नगरपालिका बनाइने
हुम्लाको सिमकोट गाउँपालिकालाई अबको एक वर्षभित्र नगरपालिका बनाइने भएको छ । यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको छ । जिल्ला सदरमुकाम भएका कारण गाउँपालिकालाई नगरपालिका बनाउन आवश्यक पूर्वाधार तयार गर्ने नीति लिएको गाउँपालिका उपाध्यक्ष बली रावतले जानकारी दिए । आगामी १ वर्षभित्र सबैै वडामा सडक सञ्जाल पुर्‍याउने, खानेपानी र विद्युत्को विस्तार गर्ने नीति लिएको उपाध्यक्ष रावतले बताए । नयाँ आर्थिक वर्षका लागि रू. ४० करोड ३९ लाख ४९ हजार ८०० को बजेट ल्याएको गाउँपालिकाले पूर्वाधार विकासमा मात्रै रू. १७ करोड ४५ लाख ८९ हजार विनियोजन गरेको छ ।

कर्णालीका अधिकांश स्थानीय तहले निर्धारित समयमै नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका भए पनि केही स्थानीय तह बजेट सार्वजनिकका तयारीमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)