ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिँचाइ र कृषि सडक निर्माणमा रू. ७ करोड खर्च

२०७७ असार, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । तरकारी तथा फलफूल र खाद्यान्न उत्पादनमा अब्बल मानिएको सल्यानमा कृषि संरचनाहरू धमाधम निर्माण भइरहेका छन् । जिल्लाका १० ओटै स्थानीय तहहरूमा कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि तथा सहज रूपमा बजारसम्म पठाउन कृषि संरचना निर्माणको कार्य धमाधम भइरहेको हो । यो वर्ष जिल्लामा सिँचाइ कुलो र कृषि सडक निर्माणमा रू. ७ करोड खर्च भएको कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

चालू आर्थिक वर्षमा जिल्लामा सिँचाइ र कृषि सडक निर्माणमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रू. ७ करोड ५ लाख खर्च भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । उक्त रकमबाट जिल्लाका १० ओटै स्थानीय तहमा गरेर २५ ओटा साना तथा मझौला सिँचाइ कुलो र २४ ओटा कृषि सडक निर्माण गरिएको छ । साना तथा मझौला सिँचाइ कुलो निर्माणमा रू. ४ करोड १५ लाख र कृषि सडक निर्माणमा रू. २ करोड ९० लाख खर्च भएको उनको भनाइ छ ।

‘चालू आर्थिक वर्षमा सिँचाइ तर्फको एउटाबाहेक अरु सबै योजनाहरूको सम्झौता भइ कार्यसम्पादन सम्पन्न भएर भुक्तानीको प्रक्रियामा छन्, प्रायः योजनाहरूको भुक्तानी भइसकेको छ भने बाँकीको पनि भुक्तानीको प्रक्रियामा छन्’, उनले भने । त्रिवेणी गाउँपालिकामा पर्ने लंके काँरेबास सिँचाइ योजनाको काम भने हुन नसकेको उनले बताए । जिल्लाका बस्तीहरूमा स्थानीयले उत्पादन गरेको कृषिजन्य वस्तुलाई सहजरूपमा बजारसम्म पठाउन कृषि सडक र कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि गर्न सिँचाइ कुलो निर्माण गरिएको उनको भनाइ छ ।

उनका अनुसार सिँचाइतर्फ छत्रेश्वरी गाउँपालिकाको ४ ओटा योजनामा रू. ६५ लाख, कालीमाटी गाउँपालिकाको ४ ओटा योजनामा रू. ५५ लाख, त्रिवेणी गाउँपालिकाको २ ओटा योजनामा रू. २५ लाख खर्च भएको छ । यस्तै बनगाड कुपिण्डे नगरपालिकाको २ ओटा योजनामा रू. ६० लाख, दार्मा गाउँपालिकाको २ ओटा योजनामा रू. ५० लाख खर्च भएको छ ।

यसैगरी कुमाख गाउँपालिकाको २ ओटा योजनामा रू. ३० लाख, सिद्धकुमाख गाउँपालिकाको एउटा योजनामा रू. २० लाख, बागचौर नगरपालिकाको २ ओटा योजनामा रू. ३० लाख, शारदा नगरपालिकाको ३ ओटा योजनामा रू. ४० लाख र कपुरकोट गाउँपालिकाको ३ ओटा योजनामा रू. ४० लाख खर्च भएको हो ।

यस्तै जिल्लामा २४ ओटा कृषि सडक निर्माण भएका छन् । छत्रेश्वरी गाउँपालिकाको ४ ओटा कृषि सडकमा रू. ४० लाख, त्रिवेणी गाउँपालिकाको २ ओटा सडकमा रू. २० लाख, कालीमाटी गाउँपालिकाको एउटा सडकमा रू. १० लाख, बनगाड कुपिण्डे नगरपालिकाको ३ ओटा सडकमा रू. ४० लाख र दार्मा गाउँपालिकाको २ ओटा सडकमा रू. ४५ लाख खर्च भएको बताइएको छ ।

यस्तै कुमाख गाउँपालिकामा एउटा सडक योजनामा रू. १० लाख, बागचौर नगरपालिकाको ४ ओटा सडकमा रू. ४० लाख, शारदा नगरपालिकाको ४ ओटा सडक योजनामा रू. ४० लाख र कपुरकोट गाउँपालिकाको ३ ओटा कृषि सडक निर्माणमा रू. ३० लाख खर्च भएको छ ।

सिँचाइ तथा सडक निर्माणमा कुल बजेटको १० प्रतिशत सम्बन्धित लाभग्राही क्षेत्रमा खर्च गनु पर्ने प्रावधान अनुसार स्थानीयको मागको आधारमा बीउविजन तथा कृषिजन्य औजार उपकरणहरू खरीद गरेर वितरण गरिएको कार्यालयको भनाइ छ । जिल्लामा गत आर्थिक वर्षमा कृषि सडक निर्माणका लागि रू. ३ करोड ४७ लाख ७८ हजार खर्च गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)