ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको राजस्व संकलन ५० प्रतिशत भन्दा कम

विकास निर्माणलगायत काम प्रभावित

२०७७ असार, २४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरान उप–महानगरपालिकाको राजस्व संकलन ५० प्रतिशत भन्दा बढीले घटेको छ । चालू आर्थिक वर्षको १० महीनामा उपमहानगरले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन । कोरोना संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनका कारण लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेको उपमहानगरले बताएको छ ।

लक्ष्य अनुसारको राजस्व संकलन नहुँदा चालू आर्थिक वर्षको आयव्ययमा समेत ठूलो असर परेको छ । धरान उपमहानगरले चालू आर्थिक वर्षमा रू. ४२ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, यो अवधिमा जम्मा रू. २० करोड ५० लाख ५० हजार मात्रै राजस्व संकलन भएको छ ।

लक्ष्यअनुसार राजस्व नउठेपछि विकास निर्माणका कामहरू समेत प्रभावित बनेको छ । राजस्वको ४० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको घरजग्गा रजिष्ट्रेशन दस्तुर वैशाखसम्ममा लक्ष्यको एक तिहाई मात्रै संकलन भएको छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरबापत यस वर्ष रू. १७ करोड संकलन गर्ने लक्ष्य लिएकोमा वैशाख मसान्तसम्ममा रू. ६ करोड ३४ लाख ६७ हजार १८९ अर्थात ३७ दशमलव ३३ प्रतिशत मात्रै संकलन गरेको छ ।

त्यस्तै एकीकृत सम्पत्ति कर, नक्सापास दस्तुर, सिफारिस दस्तुर भने ५० प्रतिशत भन्दा बढी सकंलन भए पनि त्यसले लक्ष्य भेट्टाउन सकेन । लक्ष्यअनुरूप राजस्व संकलन नहुँदा धरान उप–महानगरपालिकाले सञ्चालन गर्ने विभिन्न विकास निर्माणका योजनाहरू प्रभावित भएका छन् । उप–महानगरपालिकाले चालू वर्षमा रू. ९० करोड ४३ लाख १३ हजार ८३२ चालू खर्चका लागि विनियोजन गरेको थियो भने रू. १ अर्ब ८ करोड ७६ लाख ९१ हजार ८८७ पूँजीगत खर्चका लागि विनियोजन गरेको थियो ।

चालू खर्च वैशाख मसान्तसम्म रू. ५३ करोड ५० लाख ८४ हजार ६०५ अर्थात ५९ दशमलव १७ प्रतिशत खर्च गरिसकेको छ भने पूँजीगततर्फ जम्मा रू. ३७ करोड ३ लाख ३१ हजार ७७ अर्थात ३४ दशमलव ०५ प्रतिशत मात्रै खर्च गरेको छ । बजेट विनियोजन गर्दा चालू खर्च भन्दा पूँजीगत खर्चलाई बढी रकम छुट्ट्ययाएको भए पनि कार्यान्वयन गर्दा पूँजीगत खर्च भन्दा चालू खर्च बढी भएको छ ।

राजस्व परामर्श समितिको संयोजक समेत रहेकी धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले लकडाउनका कारण राजस्व संकलनमा कमी आएको बताइन् । राजस्व संकलनको कमीले गर्दा समग्र विकास योजनालाई नै प्रत्यक्ष रूपमा प्रभावित गरेको उनको भनाइ छ ।

धरान उप–महानगरपालिकाले राजस्व संकलनको लक्ष्य नै बढी राखेकाले पनि राजस्व संकलनमा कमी देखिएको अर्थशास्त्रका प्राध्यापक डा. राजेन्द्र शर्मा बताउँछन् । उनले राजस्व संकलन कार्यलाई लकडाउनले प्रभावित पारेको बताउँदै बजारबाट उठ्ने बहाल करदेखि, सिफारिस दस्तुर, निवेदन दस्तुर जस्ता आम्दानी गुमेको बताए ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)