ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका कारण खसीबोकाले बजार पाएन

किसानलाई घरखर्च चलाउन मुस्किल

२०७७ असार, २५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । गत चैत ११ गते घोषणा गरिएको लकडाउनसँगै धरानस्थित कृषिउपज बजार स्थलको शुक्रवारे हाट पनि पूर्णरूपमा बन्द छ । लामो समयदेखि हाटबजार बन्द रहँदा यहाँ उत्पादन भएका खसीबोकाले बजार पाएको छैन भने किसानलाई दैनिक खर्च चलाउन मुस्किल परिरहेको छ ।

आंशिक रूपमा लकडाउन खुला भएसँगै लामो समयपछि गत शुक्रवार किसानहरूले जबरजस्ती खसीबोका विक्री गर्न बजारमा ल्याएका थिए । तर, खसीबोका खरीदविक्रीका लागि ग्राहक नपाउँदा फिर्ता लैजानु प¥यो । पूर्वी पहाडी जिल्लाबाट आउने खसीबोकाले बजार नपाउँदा अहिले किसानहरू मारमा परेका छन् ।

लकडाउनको कारण धरानस्थित कृषिउपज बजार स्थलको शुक्रवारे हाटबजार सञ्चालन नहुँदा खसीबोका विक्रीमा समस्या भोग्नु परेको हो । खसीबोका विक्री गरेर दैनिक घरखर्च चलाउँदै आएका किसानहरूले विक्रीका लागि धरान बजार पु¥याएका थिए । त्यहाँ पनि भीडभाड बढ्दै गएका कारण बजार व्यवस्थापन समितिले अर्को हप्तादेखि नल्याउन सूचना टाँस गरेको छ ।

पानबारीबाट १० ओटा खसीबोका विक्री गर्न बजार आएका इन्द्रबहादुर बस्नेत त्यत्तिकै घर फर्किए । आएका केही ग्राहकले पनि राम्रो मूल्य दिन नमानेपछि फिर्ता लैजान बाध्य भएको उनले बताए । ‘हामीलाई खसीबोका विक्री गर्ने बजार भएन । भीडभाड बढ्यो भन्दै यहाँ (धरान बजार) पनि अर्को हप्तादेखि नल्याउन भनिएको छ’, उनले भने, ‘समस्या प¥यो हामीलाई, अब कसरी घरखर्च चलाउनु । गाडीमा ल्याउनुपर्छ, फिर्ता लैजान पनि भाडा तिर्नु पर्छ ।’

पहाडी जिल्लाहरूबाट धरानस्थित कृषिउपज बजार स्थलमा खसीबोकाहरू विक्रीका ल्याउने गरिन्छ । धरानको कृषि बजार हुँदै देशका अन्य जिल्ला तथा भारतीय बजारका लागि खसीबोकाहरू खरीद विक्री हुने गरेको थियो । तर, लकडाउनका कारण यातायात ठप्प र हाटबजार नै सञ्चालन नहुँदा किसानहरू मारमा परेको खसीबोका व्यवसायी थानेश्वर निरौला बताउँछन् । किसानहरूले भोजपुरबाट समेत हिँडाएर भए पनि खसीबोका ल्याउने गरेको उनले बताए ।

लकडाउनअघि धरानस्थित कृषिउपज बजारमा लाग्ने शुक्रवारे हाटबजारमा एकै दिन २ हजार भन्दा बढी खसीबोका विक्री हुने गरेको थियो । पहाडी जिल्लाबाट ल्याइएका खसीबोका खरीद गर्न भारतीय व्यापारी समेत आउने गर्दथे । तर, लकडाउनका कारण खसीबोका नै आउन छाडेका छन् भने ल्याइएका खसीबोका विक्री नहुँदा किसानहरू समस्यामा छन् ।
लकडाउनका कारण अन्य पसलहरू खुल्ला भए पनि खसीबोका विक्री हुने हाटबजार अझैसम्म पनि नखुल्दा बजार प्रभावित बनेको कृषिउपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईको भनाइ छ । ‘विक्री गर्नका लागि हाटबजार नै चाहिन्छ, अझै पनि हाटबजार बन्द गर्नु नै भनिरहेको छ, त्यसैले प्रतिस्पर्धात्मक बजार नहुँदा समस्या भएको छ’, उनले भने ।

लकडाउन यता व्यवसायीहरूले दैनिक १/२ ओटा संकलन गरेर बाहिर जिल्लाहरूमा पठाउने गरेका छन् । भट्टराईका अनुसार लकडाउनअघि हप्तामै ३÷४ ओटा ट्रकमा खसीबोका बाहिरने गर्दथे अहिले भने दुई हप्तामा १ ट्रक मात्रै जाने गरेको छ । उनले भने, ‘किसानले बजारसम्म ल्याउन सवारीसाधन पाएका छैनन् भने मासु काटेर बेच्ने पसलहरू समेत पर्याप्त नखुल्दा कारोबार हुन नसकेको हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)