धरान । दशक अघिसम्म पानबारी मन्सुली चामल उत्कृष्ट ब्रान्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानबारीमा उत्पादन हुने पानबारी मन्सुली चामल धरानमा मात्र नभइ पूर्वका झापा र मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय खेतीयोग्य जमीन मासेर तीव्र रूपमा प्लटिङ गर्न थालिएपछि ‘पानबारी मन्सुली’ ब्रान्ड हराउन थालेको छ ।
पानबारीको उत्पादन घटेसँगै अहिले अन्य ठाउँका उत्पादनलाई समेत मिसाएर ‘पानबारी मन्सुली’ भनेर विक्री गर्ने गरिएको स्वयं किसानहरू नै बताउँछन् । ‘१० वर्ष अघिसम्म एक जना किसानले कम्तीमा ३ बिगाहाको क्षेत्रफलमा धानबाली लगाउँथे । अहिले बढीमा १० कठ्ठाको क्षेत्रफलमा मात्रै रोपाइँ हुने गरेको छ’, स्थानीय किसान डम्बर देवान भन्छन्, ‘धान फल्ने जमीनहरू मासेर बस्ती बस्न थालेपछि खेती गर्ने जग्गा नै पर्याप्त छैन अहिले ।’
कृषि उत्पादनमा उत्कृष्ट रहे पनि प्लटिङले उत्पादनको क्षेत्रफल घटाइरहेको अर्का किसान मानबहादुर योञ्जन बताउँछन् । उनले भने, ‘पहिलेको तुलनामा त अहिले अनुमान नै गर्न सकिदैन्, उत्पादन धेरै घटेको छ ।’ पानबारी ब्रान्डको चामल उत्पादन हुने क्षेत्रमा प्लटिङका कारण खेतीयोग्य जमीन मासिएको छ भने किसानले विभिन्न प्रजातिका धान लगाउन थालेपछि पनि यो ब्रान्ड अहिले लोप हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् ।
हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानबारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानबारी मुलुकै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सूचीकृत पनि गरेको क्षेत्र छ । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्पादन भएको चामल स्वादिष्ट हुने भएकाले पनि पानबारीको उत्पादनहरू ब्रान्डका रूपमा स्थापित थिए ।
पानबारीमा करीब ६३० बिगाहा अर्थात ४१० हेक्टर क्षेत्रफल खेतीयोग्य भूमि थियो । साविक पाँचकन्या गाविस धरान उपमहानगरपालिकामा गाभिएपछि यहाँ जग्गा व्यापार मौलायो । प्लटिङले उर्बर भूमि बाँझो छोड्ने क्रम बढेको छ । वर्षौंदेखि खेती गरिँदै आएको जग्गा प्लटिङ गर्दै घडेरीमा परिणत थर्न थालिएपछि धरानमा धानखेती समेत लोप हुँदै गएको छ । जिल्लाका पहाडी क्षेत्रका साविक विष्णुपादुका र पाँचकन्या गाविसको मुख्य खेती नै धानबाली थियो ।
पानबारीमा १२ किसिमका धानको खेती हुने गरेको थियो । यहाँ उत्पादन भएको धानले झापा, मोरङ र सुनसरीलाई नै धानेको थियो । धानखेतीमा उत्कृष्ट भएकाले राष्ट्रिय पुरस्कारहरू समेत पानबारीले हात पारेको थियो । तर, पछिल्लो समय प्लटिङकै कारण खेतीयोग्य भूमि घडेरीमा परिणत हुन थालेपछि कृषि क्षेत्र मासिदै गएको पूर्व गाविस अध्यक्ष रमेश बस्नेत बताउँछन् । उनका अनुसार ११० वर्ष अघिदेखि आवादी रहेको पानबारीमा २०४९÷५० साल देखि सबै क्षेत्रमा खेती गर्न थालिएको थियो ।
अहिले भूउपयोग नीतिको विषयमा स्थानीय तहहरूमा छलफल भइरहेको छ । पानबारीलाई पनि कृषि क्षेत्रकै रूपमा विकास गर्नु पर्ने सुझावहरू आउन थालेको उनले बताए । ‘केहीले आवास क्षेत्रको रूपमा ल्याउनु पर्ने भनिरहेका छन्, अहिले फेरि यो लकडाउनका कारण कृषिको प्रत्याभूति भएपछि कृषि क्षेत्रमा ल्याउनु पर्छ भन्न पनि थालेका छन्’, उनले भने, ‘यहाँँको पानी, उत्पादन शक्ति अति राम्रो भएकाले पनि यस क्षेत्रलाई कृषि क्षेत्रकै रूपमा विकास गर्नुपर्छ ।’
धरानका ४, ५, ६, १७ र २० नम्बर वडालाई संघीय सरकारको नीति तथा कार्यक्रममा कृषि जोनको रूपमा विकास गर्ने भन्दै बजेट विनियोजन गरेको छ । स्थानीय सरकारले पनि कृषि क्षेत्रको रूपमा संरक्षण गर्ने बताउँदै आएको छ । स्थानीयका अनुसार पानबारीमा अहिले खेतीयोग्य जमीन रहेको क्षेत्रमा पनि ६० प्रतिशत मात्रै धानखेती हुने गरेको छ । २० प्रतिशत क्षेत्र त्यसै बाँझो छ भने बाँकी २० प्रतिशतमा प्लटिङको तयारी भइरहेको छ ।