ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा भू तथा जलाधार संरक्षणमा २ करोड खर्च

२०७७ असार, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा भू तथा जलाधार संरक्षणमा झण्डै २ करोड खर्च गरिएको छ । जिल्लाका विभिन्न सात स्थानमा तटबन्ध तथा पहिरो नियन्त्रण लगायत कार्यमा रू. १ करोड ९२ लाख ५० हजार खर्च गरिएको डिभिजन वन कार्यालय सल्यानले बताएको छ, जसमा संघीय सरकारको सशर्त बजेट रू. २० लाख र प्रदेश सरकारको १ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

प्रदेश सरकारको सबै बजेट खर्च भएको छ भने संघीय सशर्तको आधा रकम मात्र खर्च गरिएको छ । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट डिभिजन वन कार्यालय मार्फत जिल्लामा भू संरक्षणका कार्य सम्पन्न भएको हो । यस वर्ष जिल्लामा तटबन्ध निर्माणका पाँच, पहिरो नियन्त्रणका एक र भू संरक्षणका एक योजना सम्पन्न भएको भू तथा जलाधार व्यवस्थापन शाखाका जलाधार व्यवस्थापन अधिकृत दीपेश केसीले जानकारी दिए, जस अनुसार शारदा नदी सहित विभिन्न खोला किनारामा भू तथा खेतीयोग्य जमीन कटान रोक्न आवश्यक संरचना निर्माण गरिएको हो ।

वर्षेनि समस्या हुने गरेको कपुरकोटको खारा पहिरो नियन्त्रणमा यस वर्ष ५२ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । खारामा तटबन्ध निर्माण तथा वृक्षरोपण लगायत विभिन्न कार्यमा बजेट खर्च गरिएको हो । जिल्लाको संग्रही खोला तटबन्ध निर्र्माण बन्गाड कुपिण्डे नगरपालिका–७, १० र ११ मा रू. ३५ लाख र स्यानीपिप्ली भेरीनदी तटबन्ध निर्माण कुमाख गाउँपालिका–१ मा रू. ३० लाख खर्च भएको छ । यस्तै लामाडाँडा भू संरक्षण शारदा नगरपालिका–४ मा रू. ३० लाख, सिंबाङ घुरखोला तटबन्ध निर्माण कपुरकोट गाउँपालिका–६ मा रू. २० लाख र पेदीखोला तटबन्ध निर्माण बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रामा रू. १५ लाख खर्च गरिएको छ । ‘संघीय सशर्त बजेटबाट बरला भट्टाचौर तटबन्ध निर्माणमा रू. १० लाख खर्च भएको छ । बाँकी रू. १० लाख कालीमाटी गाउँपालिकामा काम गर्नेगरी तय भएको थियो तर कोरोनाका कारण काम हुन सकेन,’ केसीले भने । भूक्षय, जमीन कटान लगायत कार्य रोक्न यस वर्ष संरचना निर्माणको काम गरिएको हो । साथै यस कार्यले जलाधार संरक्षणमा समेत टेवा पुग्ने कार्यालयको भनाइ छ । खारा पहिरो नियन्त्रण उपभोक्ता समितिका सचिव शिशिर गिरीले वर्षेनि झर्दै आएको पहिरोलाई नियन्त्रणका लागि यस वर्ष विभिन्न संरचना निर्माण गरिएको बताए । खारा पहिरोका कारण कपुरकोट बजार नै जोखिममा रहेको भन्दै उनले यसको नियन्त्रण र रोकथामका लागि काम भइरहेको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)