असार २६, सुर्खेत । सुर्खेतमा गाउँमै ‘श्रम रोजगार बैंक’ खुलेपछि रोजगारीका लागि भारत जाने चलन कम भएको छ । कामको खोजीमा बर्सेनि भारत जाने गरेका रास्कोट नगरपालिका–५ कालिकोटका मनवीर तिरुवाले गाउँमै ‘श्रम रोजगार बैंक’ खुलेपछि वर्ष दिनदेखि गाउँमै रोजगारी पाएका छन् ।
नगरपालिकाले सञ्चालन गरेको श्रम रोजगार बैंकमा आबद्ध उनी अहिले गाउँमै महीनामा रू. ३५ हजारसम्म आम्दानी गरिरहेको बताउँछन् । ‘मुम्बईमा चौकीदारीको काम गर्दा परिवार पाल्नै मुस्किल हुन्थ्यो,’ उनले भने, ‘तर अहिले त्यस्तो अवस्था छैन । समय फेरिएको छ । कालापहाडको भन्दा गाउँमै दोब्बर कमाइ छ ।’
तीन वर्ष खाडी मुलुकमा काम गरेर फर्केका कालिकोट फुकोटका कपुर महतराले पनि विदेशको भन्दा राम्रो कमाइ गाउँमै गरिरहेको बताउँछन् । ‘अर्काको देशमा दैनिक १८ देखि २० घण्टा पसिना बगाउँदा २० देखि २५ हजार रुपैयाँ कमाइन्थ्यो,’ उनले भने, ‘अहिले घर परिवारसँगै बसेर महीनामा त्यो भन्दा बढी कमाउँछु ।’
रास्कोट नगरपालिकाले गत वर्षदेखि सञ्चालन गरेको श्रम रोजगार बैंकले हालसम्म २६० जनालाई रोजगारी उपलब्ध गराएको बताएको छ । नगरपालिकाले गाउँका युवालाई विकास निर्माण र उत्पादनका साथै सामाजिक सुरक्षा, विपद् व्यवस्थापन जस्ता कार्यमा परिचालन गर्दै आएको छ । श्रम बैंकमा सामान्य लेखपढदेखि उच्च शिक्षा हासिल गरेका १८ देखि ४० वर्षसम्मका व्यक्तिले रोजगारी पाएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
हरेक युवाले मासिक सरदर रू. २५ देखि ३० हजारसम्म कमाउँदै आएको श्रम रोजगार बैंकका अध्यक्ष पद्मबहादुर खड्काले बताए । उनले बीस जना सहभागी १३ ओटा समूह बनाएर युवायुवतीलाई विकास निर्माणमा परिचालन गरिएको बताए । श्रम बैंकमा काम गरिरहेकी सिपखानाकी हस्ता लोहार गाउँमै आम्दानी गर्ने अवसर पाउँदा निकै खुशी भएको बताउँछिन् ।
‘तीनदेखि चार महीनामा लगभग ९० हजारसम्म कमाइ भईरहेको छ,’ उनले भनिन्, ‘श्रीमान् र आफ्नो मध्ये एक जनाको आम्दानी बचत गरिरहेका छौ भने अर्कोको आयले घरखर्च धानिरहेका छौं ।’
श्रम बैंकमा निरक्षरदेखि उच्च शिक्षासम्म पढेलेखेका, घरका कुनै पनि सदस्य रोजगारमा नभएका, द्वन्द्वपीडित, दलित परिवारका सदस्यलाई प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले बताए । उनले भवन निर्माण लगायत विभिन्न काममा उक्त बैंक मार्फत युवाहरुको समूहलाई परिचालन गराइ रहेको जानकारी दिए । उनका अनुसार हालसम्म रू. १० करोड बराबरको विकासका काम उक्त बैंक मार्फत गरिएको छ ।
श्रम बैंकमा १८ देखि ४५ वर्षसम्म उमेर समुहका बेरोजगार महिला एवं पुरुष सदस्य छन् । १० जोड २ को अध्ययन पूरा गरी सरकारी जागिरको तयारीमा जुटेकी झरना उपाध्याय अब आफूले त्यो सपना त्यागेको बताउँछिन् । ‘श्रम बैंक नखुलेको भए रोजगारीको लागि भौतारिनु पथ्र्याे होला,’ उनले भनिन्, ‘अब ढुक्क भएर यहीको काममा आफूलाई केन्द्रित गरेकी छु ।’
बैंकमा आबद्ध प्रत्येक सदस्यको रू. १० लाखको दुर्घटना बीमा पनि गरिएको छ । उनीहरुले आफ्नो कमाइको १० प्रतिशत रकम बचत गर्छन् भने त्यसमा नगरपालिकाले १० प्रतिशत रकम थपेर सञ्चय गरिदिएको हुन्छ । बैंकको सदस्य ५० वर्ष पुगेपछि अनिवार्य अवकाश पाउने भएकोले बचत रकम त्यति बेला मात्र निकाल्न पाउँने नियम रहेको छ ।